मोजाम्बिकमा डुङ्गा पल्टिँदा ९१ जनाको ज्यान गयो, ३४ जना बेपत्ता

होमल्याण्ड खबर

२०८० चैत्र २६ गते, सोमबार १५:३६ मा प्रकाशित

मोजाम्बिकको उत्तरी प्रान्त नामपुलामा डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको छ ।

मोजाम्बिक टापु नजिकै मानिसहरूले भरिएकाे डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको र ३४ जना हराइरहेका सरकारी रेडियो मोजाम्बिकलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पाँच जना जीवितै भेटिएका छन् । ज्यान गुमाउनेहरूमा धेरैजसो बालबालिका छन् ।

नामपुला प्रान्तका राज्य सचिव जेमे नेटोले मोसुरिल जिल्लाबाट प्रस्थान गरेको यो डुङ्गामा एक सय ३४ जना यात्रु सवार थिए । हैजाको प्रकोपबारे गलत जानकारी फैलिएपछि मानिसहरू हतार–हतार गएर आफ्नो गाउँ छाड्ने क्रममा दुर्घटना भएको खबरमा उल्लेख छ । माछा मार्ने डुङ्गामा अत्यधिक मानिस बसेकै कारण पल्टिएको प्रहरीले जनाएको छ ।