भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान सुरु

होमल्याण्ड खबर

२०८१ बैशाख ७ गते, शुक्रबार ११:०८ मा प्रकाशित

भारतमा शुक्रबार लोकसभा चुनाव अन्र्तगत मतदान सुरु भएको छ। पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा मतदान हुँदैछ। आगामी जून १ तारिखसम्म चल्ने मतदानका लागि झन्डै १ अर्ब मानिसहरू भोट खसाल्न योग्य भएको र भारतको यो निर्वाचनलाई संसारकै हालसम्मको सबैभन्दा ठूलो चुनाव भनिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि चुनिने लक्ष्य राखेका छन्। मोदीलाई चुनौती दिन कैयौँ विपक्षी दलहरूले मिलेर गठबन्धन बनाएका छन्।
चुनावको परिणाम जून ४ मा घोषणा गरिनेछ। पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात सदस्य छन्। यस्तै तीन जना पूर्व मुख्यमन्त्री तथा एक पूर्व राज्यपाल पनि चुनावी भिडन्तमा छन्।

पहिलो चरणमा अरुणाञ्चल प्रदेश,असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालयमा मतदान हुँदैछ। यस्तै, मिजोरम,नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबारमा पनि शुक्रबारै मतदान हुन्छ। पहिलो चरणमा चुनाव हुने अन्य क्षेत्रमा जम्मु–कश्मीर, लक्षद्वीप, पुडुचेरी छन्।

कुल २१ राज्यबाट पहिलो चरणको चुनावमा १०२ लोकसभा सदस्य चयन हुनेछन् । पहिलो चरणमा उत्तर प्रदेशको आठ सिट, पश्चिम बंगलाको तीन सिट, महाराष्ट्रको पाँच सिटमा चुनाव छ।

यस्तै, छत्तीसगढको एक, राजस्थानको १२, मणिपुरको २ र तमिलनाडुको ३९ सिटमा चुनाव छ। उत्तराखण्डको पाँच सिटमा, अरुणाचलको २ सिट र मेघालयको २ सिटमा पुडुचेरी र सिक्किममा पनि पहिलो चरणमा एक/एक सिटका लागि मतदान छ।