नेपाली नाेटमा चुच्चे नक्सा राख्ने निर्णयप्रति भारतको विरोध

होमल्याण्ड खबर

२०८१ बैशाख २३ गते, आईतवार ११:५० मा प्रकाशित

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् ।

जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् । जयशंकरको भनाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले लेखेको छ, ‘हामी स्पष्ट छौं । नेपालसँगको सीमा समस्या समाधानका लागि छलफल भइरहेको छ । दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा बीचमा उनीहरूले एकतर्फी निर्णय गरे । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।’

बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो । एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको समेत दिइसकेको छ ।

नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै त्यतिबेला आपत्ति जनाएको थियो ।