कांग्रेसमा भागबन्डा नमिल्दा लुम्बिनी सरकारले पाएन पूर्णता

होमल्याण्ड खबर

२०८१ आश्विन १८ गते, शुक्रबार १०:५९ मा प्रकाशित

लुम्बिनी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसमा मन्त्री छान्ने विषयमा विवाद हुँदा सरकार गठनको लामो समयसम्म सरकारले पूर्णता पाएको छैन । साउन ७ गते सत्तारुढ एमाले र कांग्रेसले प्रदेश सरकार एकै पटक पूर्णता दिने समझदारी गरेका थिए तर कांग्रेसभित्रैको समस्या र साना दलबाट कसलाई सहभागी गराउने विषयमा छिनोफानो नहुँदा अहिलेसम्म अल्झिएको छ ।

१२ मन्त्रालय रहेको प्रदेशमा अहिले मुख्यमन्त्रीसहित ८ मन्त्री मात्रै रहेका छन् । सत्ता साझेदार सहमति गर्दा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय बाँड्ने र २ मन्त्रालयमा साना दलबाट पठाउने निर्णय भएको थियो । अहिले कांग्रेसबाट ३ जना मात्रै मन्त्री रहेका छन् । यसअघि मन्त्री बनेका बादशाह कुर्मी विवादका कारण राजीनामा दिएर बसेका छन् ।

सहमतिअनुसार कांग्रेसको भागमा रहेको दुई कोटामा मन्त्री छान्न ढिलाइ हुँदा त्यसको असर सरकार विस्तारमा परेको हो । १२ सदस्यीय मन्त्रिमण्डल हुने लुम्बिनी सरकारमा एमालेले ५, कांग्रेसले ५ र बाँकी मन्त्रालय साना दलले पाउने सहमति भएको थियो । त्यही सहमतिअनुसार गत साउन ७ मा मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त भएका थिए ।

साउन ९ मा उनले एमालेबाट ४ र कांग्रेसबाट ४ मन्त्री नियुक्त गरेका थिए । तर, वन तथा वातावरणमन्त्रीमा नियुक्त बादशाह कुर्मीले राजीनामा दिएपछि सरकारमा अहिले कांग्रेसका ३ मन्त्री छन् । बाँके ३ को २ बाट निर्वाचित कुर्मी बाँकेकी निर्मला कुर्मीको शङ्कास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित हुन् ।

अनुसन्धान नै प्रभावित गराउने गरी उनलाई सांसद र मन्त्री बनाइएको भन्दै महिला अधिकारकर्मीहरू आन्दोलित भएका थिए । चौतर्फी दबाब र विरोधपछि उनले गत भदौ २५ मा पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री चेतनारायण आचार्यले कुर्मीले राजीनामा दिएको मन्त्रालय छाडेर मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । कांग्रेसभित्र विवाद पनि बढेकाले कुर्मीले राजीनामा दिएको बताउँदै कांग्रेसबाट बनेका एक मन्त्रीले कुर्मीको मन्त्री पद खाली राखेर मन्त्रिपरिषद् विस्तार गर्ने करिब समझदारी भएको र आइतबारसम्म त्यो टुंगो लाग्ने जनाए ।

उनका अनुसार कुर्मीको विषय अनुसन्धान भइरहेको र छिटै टुंगो लाग्ने भएकाले केही समय यत्तिकै राखिने भएको छ । मन्त्री छनौटको विषयमा कांग्रेसमा संस्थापन र इतर समूहको रस्साकस्सी चलिरहेको छ । २७ सांसदमध्ये धेरै सांसद संस्थापन समूहमै भए पनि पार्टी प्रदेशमा इतर समूहको वर्चस्व रहेकाले मन्त्री छनौटमा समस्या भएको हो । अहिले इतर समूहबाट १ र संस्थापन समूहबाट दुई मन्त्री सरकारमा छन् ।

मन्त्री छनौटको विषयमा असन्तुष्टि जनाउँदै प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिना र सचेतक निमा गिरीले सो पदबाट राजीनामा दिएर बसेका छन् । साउन ९ गते मन्त्रीका लागि नाम छनौट गरेर शपथ गर्ने समयमा तिमिल्सिनालाई रोकिएपछि उनी असन्तुष्ट छन् । उनी संस्थापन पक्षकै हुन् ।

राजीनामा दिएकी सचेतक निमा गिरी पनि मन्त्रीको आकांक्षी हुन् यद्यपि उनले एक महिलालाई मन्त्री बनाउनुपर्ने आफ्नो अडान रहेको बताउँदै आएकी छन् । लुम्बिनीमा कांग्रेसबाट ९ महिला सांसद छन् । कांग्रेसबाट लुम्बिनी प्रदेशमा अहिलेसम्म एक जना महिला मन्त्री नबनेकाले अब सिफारिस गर्ने क्रममा अनिवार्य महिला हुनुपर्ने उनीहरूको दाबी छ ।