क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?

होमल्याण्ड खबर

२०८१ पुष ३ गते, बुधबार ११:३० मा प्रकाशित

एजेन्सी । आफूहरूले क्यान्सर विरुद्धको खोप तयार पारेको दाबी रुसको स्वास्थ्य मन्त्रालयले गरेको छ । यो खोप आफ्ना नागरिकलाई सित्तैमा लगाइने मन्त्रालयले भनेको छ ।

डेली मेलमा छापिएको एउटा समाचारका अनुसार रुसको स्वास्थ्य मन्त्रालयमातहतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टका प्रमुख एन्ड्री काप्रिनले भनेका छन् कि खोपलाई सन् २०२५ को सुरुमा लन्च गरिनेछ ।

खबरका अनुसार यो खोपबाट क्यान्सर निको हुनेछ । यसले ट्यूमर बन्नबाट भने रोक्ने छैन । खोपको हरेक मात्रा बिरामीका लागि छुट्टा छुट्टै तयार पारिने वैज्ञानिकहरूले भनेका छन् । यो खोप पश्चिमी देशमा बनाइरहेको क्यान्सर विरुद्धको खोप जस्तै भएको बताइएको छ । तर अहिलेसम्म यो खोपले कसरी क्यान्सरको निको पार्छ भनेर चाँहि स्पष्ट बताइएको छैन ।

यो खोपको कत्तिको प्रभावकारी हुनेछ वा रुसले यसलाई कसरी लगाउनेछ भन्ने जस्ता जानकारी पनि आएका छैनन् । न त मन्त्रालयले खोपको नाम नै सार्वजनिक गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै आफ्नो देशका वैज्ञानिकहरूले क्यान्सर विरुद्धको खोपमा काम गरिरहेको र उनीहरू अन्तिम चरणमा पुगेको बताएका थिए ।