इजरायलद्वारा वार्ताकारलाई दोहा जान निर्देशन

होमल्याण्ड खबर

२०८१ माघ २७ गते, आईतवार १६:३२ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)  युद्धविरामअन्तर्गत सहमति भएको बन्धक र कैदीको पाँचौं समूहको अदलाबदली पूरा भएपछि हमाससँगको युद्धविरामबारे छलफल गर्न वार्ताकारलाई कतार फर्कन शनिबार आदेश दिनुभएको छ ।

उहाँले गाजामा तीन जना बन्दीलाई सुपुर्दगी गरेपछि हमासलाई विस्थापित गर्ने र बाँकी रहेका सबै बन्धकहरूलाई मुक्त गर्ने आफ्नो प्रतिज्ञा दोहो¥याउनुभयो । उहाँले लडाकू समूहलाई ‘गैर–मानव’ को रूपमा निन्दा गर्नुभएको छ ।

यसैबीच, शनिबारको अदलाबदलीमा गाजाबाट शनिबार रिहा गरिएका तीन जना इजरायली बन्धकको उपचार गरिरहेको अस्पतालले ओर लेभी र एली शाराबीको स्वास्थ्य अवस्था ‘खराब’ रहेको र ओहद बेन अमीको ‘पोषणको गम्भीर कमीको अवस्था’ रहेको जनाएको छ।

बदलामा इजरायलले रिहा गरेका १८३ कैदीमध्ये सात जनालाई अस्पताल भर्ना गर्नुपर्ने र जेलमा ’क्रूरता’ र दुव्र्यवहारको निन्दा गरेको प्यालेस्टिनी प्रिजनर्स क्लब एडभोकेसी ग्रुपले जनाएको छ ।

इजरायली हिरासतबाट रिहा भएकामध्ये ४१ जना पश्चिम किनाराको रामल्लाह शहर, चार जना इजरायलको कब्जामा रहेको पूर्वी जेरुसेलम, १३१ जना गाजामा र सात जना इजिप्टमा निर्वासित भएका छन् ।

युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले युद्धविरामको अर्को चरणमा वार्ता सुरु हुन लागेका बेला गत महिना युद्धविराम लागू भएयता पाँचौँ पटक युद्धविराम भएको हो ।

तर हमासका वरिष्ठ अधिकारी बासेम नईमले शनिबार जारी विज्ञप्तिमा भन्नुभएको छ,  “इजरायलको ढिलासुस्ती र पहिलो चरणको कार्यान्वयन प्रतिबद्धताको कमीले यस सम्झौतालाई खतरामा पार्छ र यसैले यो रोक्न वा पतन हुन सक्छ।”

एएफपीसँगको अन्तर्वार्तामा उहाँले गाजा पट्टीमा कठिन परिस्थितिमा बसोबास गरिरहेका बन्धकहरूको अवस्था स्वीकार्य रहेको दावी गर्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिएर त्यहाँका बासिन्दालाई सफाया गर्नुपर्ने सुझाव दिएपछि शनिबारको अदलाबदली भएको हो ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा लडाकुले कब्जामा लिएका तीनै जना इजरायली बन्धक शनिबार ‘सीमा पार गरी इजरायली भूमिमा प्रवेश गरेका’ इजरायली सेनाले जनाएको छ ।

इजरायली सेनाले आक्रमणका क्रममा बन्धक बनाइएका २५१ मध्ये ७३ जना गाजामै रहेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको जनाएको छ ।