एनआरएनए उच्चस्तरीय समिति बैठकको निर्णय सार्वजनिक

होमल्याण्ड खबर

२०८१ चैत्र ३ गते, सोमबार १५:१८ मा प्रकाशित

सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको आइतबार सम्पन्न १२औँ बैठकको निर्णय सार्वजनिक गरिएको छ ।

संयोजक डा शेष घलेको अध्यक्षता र परराष्ट्र तथा कानुन मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको बैठकले हालसम्म भएका काम तथा प्रगतिको बारेमा छलफल गरी विभिन्न ७ बुँदे निर्णय गरेको समितिका सदस्य सचिवद्वय जानकी गुरुङ र रविना थापाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार एनआरएनए उच्चस्तरीय समिति अन्तर्गत आर्थिक उपसमितिका संयोजक कुल आचार्यको संयोजकत्वमा सुनील साह (अमेरिका) सदस्य सचिव रहने गरी आर्थिक उपसमिति गठन गरिएको छ।

उपसमितिमा अमेरिकाज क्षेत्रबाट ९ जना, युरोप क्षेत्रबाट २१ जना, अफ्रिका क्षेत्रबाट ४ जना, मध्यपूर्व क्षेत्रबाट ६ जना, एसिया प्रशान्त क्षेत्रबाट ९ जना र ओसनिया क्षेत्रबाट ६ जना कुल ५५ जना रहेका छन् । उपसमितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी राष्ट्रिय समन्वय परिषदहरूलाई आवश्यक काम कारवाहीको लागि सहजिकरण तथा संयोजन गर्ने गराउने जिम्मेवारी अनुसार एनसीसी समन्वय उपसमितिका संयोजक विनोद कुँवरले आगामी एकता महाधिवेशनमा केन्द्रित रहेर सदस्यता अद्यावधिक, नवीकरण र नयाँ दर्ताको कार्यलाई तीव्रता दिइएको बैठकमा बताएको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार ३१ मार्च २०२५ भित्र एनआरएनको सदस्य बन्न योग्य सबै एनआरएनहरुलाई सदस्यता लिन वा आफ्नो सदस्यता नवीकरण गर्न उच्चस्तरीय समितिले पुनः आह्वान गरेको छ।

यस्तै उच्चस्तरीय समिति र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूबिच एमओयु सम्झौता भैसकेको भए सो अनुसार कार्य अगाडि बढाउने, यदि सम्झौता नभएको खण्डमा त्यस देशमा नयाँ संयोजक तोकी कार्य अगाडि बढाउने निर्णय गरिएको उपसमितिका संयोजक कुँवरले बताए ।