३ बैशाख २०८२, बुधबार
चीनले तिब्बतसम्बन्धी विषयमा अनुचित व्यवहार गर्ने केही अमेरिकी नागरिकविरुद्ध भिसा प्रतिबन्ध लगाएकोे सोमबार चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
तिब्बती क्षेत्रमा विदेशीको पहुँचसम्बन्धी नीतिमा संलग्न केही चिनियाँ अधिकारीमाथि अमेरिकाले दुई हप्ताअघि अतिरिक्त भिसा प्रतिबन्ध लगाएको थियो । त्यसपछि आफ्नो नियमित प्रेस कन्फ्रेन्समार्फत चीनले यो घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीले अमेरिकी कूटनीतिज्ञ, पत्रकार र अरू अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई तिब्बत र त्यहाँका अरू क्षेत्रमा पहुँच दिन अस्वीकार गरेको आरोप लगाएको छ । अमेरिकी कूटनीतिज्ञ र अरू व्यक्तिलाई उक्त क्षेत्रमा निर्बाध पहुँच दिन पनि माग गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले तिब्बतसम्बन्धी विषय चीनको आन्तरिक मामला भएको बताए । उनले अमेरिकाले तिब्बतका विषयमा चिनियाँ अधिकारीविरुद्ध भिसा प्रतिबन्ध लगाएको र उक्त निर्णयले अन्तर्राष्ट्रिय कानुन र सम्बन्धको मूल नियमको गम्भीर उल्लंघन गरेको उल्लेख गरे ।