टर्कीको ठूलो सहर इस्तानबुलमा ६.२ म्याग्निच्यूडको भूकम्प

होमल्याण्ड खबर

२०८२ बैशाख १० गते, बुधबार १६:४९ मा प्रकाशित

टर्कीमा बुधबार दिउँसो ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । यो भूकम्पका कारण टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलसहितमा ठूला भवनहरू हल्लिएका छन् ।

समाचार अनुसार यो भूकम्प स्थानीय समयअनुसार मध्यान्ह १२ बजेर ४९ मिनेटमा गएको हो । यस भूकम्पको केन्द्रबिन्दु इस्तानबुलस्थित सिल्भ्री क्षेत्रस्थित मार्मरा सागरको तटमा रहेको छ ।

टर्कीको विपद् तथा आपत्कालीन प्राधीकरणका अनुसार भूकम्पपछिको क्षतिबारे विवरण संकलनको काम भइरहेको छ ।

यो भूकम्पको केन्द्रबिन्दु पृथ्वीको सतहभन्दा १० किलोमिटर भित्र रहेको जर्मन रिसर्च एन्ड सेन्टर फर जियोसाइन्सलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

टर्किस अधिकारीहरूका अनुसार अहिलेसम्म ठूलो भौतिक पूर्वाधारमा क्षति पुगेको विवरण आइसकेको छैन ।

तर बोस्फोरस स्ट्रेटको युरोपेली र एसियाली किनारमा अवस्थित शहरमा भौतिक संरचना हल्लिएपछि मानिसहरू सडकमा निस्किएका छन् ।

टर्कीको एक टेलिभिजन च्यानल टीजीआरटीले सार्वजनिक बिदाको समयमा आएको भूकम्पका बेला बाल्कोनीबाट हामफाल्दा एकजना व्यक्ति घाइते भएको जनाएको छ।