३० बैशाख २०८२, मंगलवार
भारतीय आक्रमणमा आफ्ना ११ सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले बताएको छ । मारिएका सैनिकहरूमा ६ जना सेनाका र ५ जना वायुसेनाका भएको बताइएको छ ।
पाकिस्तानी मिडिया डनको रिपोर्ट अनुसार ७८ सैनिक पनि घाइते भएका छन् । भारतीय आक्रमणमा परेर ४० जना सर्वसाधारणको पनि मृत्यु भएको र १२१ जना घाइते भएको पनि बताइएको छ ।
प्रधानमन्त्री शाहबाज शरीफले भारतसँगको द्वन्द्वमा मारिएका पाकिस्तानी सैनिकका परिवारका लागि मरकज–ए–हक नामक राहत प्याकेजको घोषणा गरेका छन् । यसमा ज्यान गुमाउनेहरूका परिवारलाई १ करोड रुपैयाँ दिइनेछ । यसबाहेक, घाइतेहरूलाई १० देखि २० लाख रुपैयाँसम्मको क्षतिपूर्ति पनि दिइनेछ ।
यसैबिच, प्रधानमन्त्री शाहबाज शरीफले मंगलबार दिउँसो १२ बजे सर्वदलीय बैठक बोलाएका छन् । यसमा भारत विरुद्ध सुरु गरिएको अपरेशन बन्यान–अन–मर्सूसमाथि छलफल गरिनेछ ।