८ जेष्ठ २०८२, बुधबार
जापानका कृषिमन्त्रीले समर्थकहरूबाट उपहारका रूपमा पाएकोले आफूले कहिल्यै चामल किन्न नपरेको टिप्पणीपछि राजनीतिक परिणामका कारण पदबाट राजीनामा दिनुभएको छ ।
देशले चामलको बढ्दो मूल्य सामना गरिरहेको अवस्थामा कृषिमन्त्री टाकु इटोले निःशुल्क चामलको बारेमा गरेको टिप्पणीले सार्वजनिक आक्रोश निम्त्याएपछि उहाँले आज पदबाट राजीनामा दिनुभएको एएफपीले जनाएको छ ।
कृषिमन्त्री इटोले सप्ताहन्तमा एउटा भेलालाई सम्बोधन गर्दै समर्थकहरूले धेरै दान गरेका कारण आफूले कहिल्यै चामल नकिनेको र यसलाई व्यावहारिक रूपमा बेच्न सक्ने बताउनुभएको थियो ।
चामलको अभावका कारण मूल्य आकाशिएको जापानमा यो भनाइले ठूलो असर पारेको छ । गएको महिना चामलको मूल्य सन् २०२४ अप्रिलको तुलनामा झन्डै दोब्बर पुगेको थियो ।
सन् २०२३ मा गर्मी मौसमका कारण खराब फसल र गएको वर्ष ठूलो भूकम्पको चेतावनीद्वारा प्रेरित आपत्कालीन खरिदका साथै पर्यटन उद्योगको वृद्धिका कारण चामलको अभाव भएको खबरमा उल्लेख छ । सरकारले मूल्य घटाउने प्रयासमा आफ्नो आपत्कालीन चामल भण्डारको केही हिस्सा जारी गर्न बाध्य भएको छ र अहिलेसम्म थोरै सफलता मिलेको छ ।
कृषिमन्त्री इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युशनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय भन्दै आलोचना गर्नुभएको थियो ।
खाद्य पदार्थको उच्च मूल्यका कारण खराब जनमत ‘रेटिङ’ भएका प्रधानमन्त्री शिगेरु इशिबाले मन्त्रीको टिप्पणीलाई ‘अत्यन्त दुर्भाग्यपूर्ण’ भन्दै निन्दा गर्नुभयो ।
विपक्षी दलहरूले इशिबाको अल्पमत सरकारविरुद्ध अविश्वासको प्रस्ताव दायर गर्ने धम्की दिएका खबरमा उल्लेख छ ।