१८ जेष्ठ २०८२, शनिबार
भारतीय विदेश मन्त्रालयका अनुसार सन् २०२५ को जनवरीदेखि हालसम्म करिब एक हजार भारतीय नागरिकलाई अमेरिकाबाट भारत फिर्ता गरिएको छ । प्रवक्ता रणधीर जयसवालका अनुसार यीमध्ये लगभग ६२ प्रतिशत व्यक्ति व्यावसायिक उडानमार्फत फर्किएका छन्, यद्यपि उनले विस्तृत विवरण भने दिएनन् ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैध कागजातबिना अमेरिकामा बसोबास गर्ने व्यक्तिहरूलाई देश निकाला गर्ने नीति ल्याएका थिए ।
गत फेब्रुअरीमा अमेरिकाले सैन्य विमानमार्फत सयभन्दा बढी भारतीय नागरिकलाई देश निकाला गरेको थियो । यस क्रममा निर्वासित व्यक्तिहरूलाई हतकडी लगाइएको भन्ने चर्चा चलेको थियो ।
विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले भारत र अमेरिका आप्रवासन मुद्दामा नजिकबाट सहकार्य गरिरहेको बताए । उनले भने , ‘भारतले कुनै पनि व्यक्तिलाई फिर्ता लैजानुअघि उनीहरूको राष्ट्रियता प्रमाणित गर्छ ।’
अमेरिकाले करिब १८ हजार भारतीय नागरिकलाई अवैध रूपमा बसोबास गरेको पहिचान गरेको छ । भारतस्थित अमेरिकी दूतावासले लामो समयसम्म गैरकानुनी बसोबास गरेमा देश निकाला र स्थायी प्रतिबन्धको जोखिम हुने चेतावनी दिएको छ। यो नियम कानुनी रूपमा अमेरिका प्रवेश गरेका व्यक्तिहरूलाई पनि लागू हुने दूतावासले जनाएको छ ।