अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि चितवनको भरतपुरमा हुने

होमल्याण्ड खबर

२०८२ पुष ९ गते, बुधबार १४:०४ मा प्रकाशित

अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।

चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले पत्रकार सम्मेलन गर्दै डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ पुस २५ देखि २९ गते सम्म अन्तराष्ट्रिय डेरी एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो ।

दुग्ध उत्पादन सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालले दुग्धजन्य उत्पादनको व्यवसायीकतामा लागेका किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको बताए । 

उत्पादनको हिसाबले आत्मनिर्भर हुँदै गरेको दूधबाट विभिन्न औद्योगिक उत्पादन गर्ने प्रयोजनका लागि किसानहरूलाई मेशिन उपकरणको अवलोकनको अवसर प्रदान गर्न पनि एक्स्पो उपयोगी हुने उनले बताए ।

त्यस्तै चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले अन्तराष्ट्रिय डेरी एक्स्पोले दुग्ध किसानहरूलाई नयाँ प्रविधि र व्यवसायीक दुग्ध किसान बन्नका लागि सहयोग पुग्ने बताए । 

५ दिनसम्म सञ्चालन हुने एक्स्पोमा नेपाल, भारत लगायतका दुग्ध उद्योगसँग सम्बन्धित प्रविधि उपकरणका साथै दुग्धजन्य उत्पादनहरू पशु औषधि भेटिनरी पशु आहार वित्तीय संस्थाहरू समेतको १ सय भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ ।