९ मंसिर २०८१, आईतवार
एजेन्सीः रुसमा ग्यास विस्फोटन हुँदा ३७ जनाको मृत्यु भएको छ ।
नयाँ बर्षको अवसरमा रमाइलो कार्यक्रम भइरहँदा अपार्टमेन्टमा भएको ग्यास विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा बिहीबार थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या ३७ पुगेको हो।
कार्यक्रम भइरहेका बेला अपार्टमेन्टको एक भागमा ग्यास विस्फोटन भएपनि सँगसँगै अरु धेरै परिवार रहेकाले उनीहरुलाई पनि असर परेको अधिकारीहरुले जनाएका छन्।
मृत्यु हुनेमा छ जना बालबालिका रहेको आपतकालिन मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ।
अत्यन्त न्युन तापक्रमका कारण उद्धार तथा खोजी कार्यमा कठिनाई भइरहेको उद्धारकर्ताहरुले बताएका छन् ।
घटनास्थलको तापक्रम अहिले माइनस २७ डिग्री सेल्सीयस पुगेको छ।
अहिलेसम्म घटनास्थलबाट २ बालबालिका सहित ६ जनालाई उद्धार गरिएको छ। विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्ट ध्वस्त र १० वटा क्षतिग्रस्त भएको बताइएको छ।