अमेरिका–इरानबीच प्रारम्भिक सम्झौता, शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने

होमल्याण्ड खबर

२०८३ असार १ गते, सोमबार ११:४४ मा प्रकाशित

अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। दुवै देशले युद्धविरामलाई थप ६० दिन विस्तार गर्ने तथा विश्वको महत्वपूर्ण तेल मार्ग मानिने होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा प्रारम्भिक सहमति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्झौताको औपचारिक हस्ताक्षर शुक्रबार स्विजरल्याण्डमा हुने बताइएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा भएको वार्ताले अमेरिका र इरानबीचको १०० दिनभन्दा लामो सैन्य तनाव कम गर्ने आधार तयार गरेको छ।

प्राप्त विवरणअनुसार प्रारम्भिक सम्झौतामा होर्मुज जलडमरूमध्यलाई पुनः व्यावसायिक जहाज आवागमनका लागि खुला गर्ने, सैन्य गतिविधि रोक्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने सहमति समावेश छ।

यद्यपि इरानको युरेनियम भण्डारण, युरेनियम प्रशोधन र दीर्घकालीन आणविक कार्यक्रमका विषयमा अझै अन्तिम सहमति हुन बाँकी रहेको बताइएको छ। यी विषयमा आगामी ६० दिनभित्र थप वार्ता हुने जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नजिक पुगेको बताएका छन् भने इरानी अधिकारीहरूले पनि वार्ता सकारात्मक दिशामा अघि बढिरहेको प्रतिक्रिया दिएका छन्।

सम्झौताको खबर सार्वजनिक भएसँगै विश्व बजारमा तेलको मूल्य उल्लेखनिय रुपमा घटेको छ भने शेयरको मुल्य बढेको छ ।

सम्झौताको मस्यौदामा के छ ?
इरानको सरकारी निकट समाचार एजेन्सी मेहरका अनुसार अमेरिका र इरानबीच सहमति नजिक पुगेको मस्यौदा सम्झौतामा १४ बुँदा समावेश छन्। यद्यपि यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

मेहरका अनुसार लेबनानसहित सबै मोर्चामा स्थायी र तत्काल युद्धविराम, ३० दिनभित्र समुद्री नाकाबन्दी पूर्ण रूपमा हटाउने, इरान वरपरबाट अमेरिकी सैन्य उपस्थिति घटाउने वा फिर्ता गर्ने प्रतिबद्धता रहेको छ ।

यस्तै होमर्जुज जलमार्ग पुनः पूर्ण रूपमा खोल्ने, इरानी तेल निर्यातमाथिका केही प्रतिबन्धहरू निलम्बन गर्ने,
सम्झौतामा हस्ताक्षर भएको ६० दिनभित्र आणविक मुद्दामा अन्तिम सहमति गर्ने, वार्ता अवधिमा इरानका २४ अर्ब अमेरिकी डलर बराबरका रोक्का सम्पत्ति फुकुवा गर्ने रहेका छन् ।

मेहरका अनुसार इरानले अर्को चरणको अन्तिम वार्ता सुरु गर्नुअघि दुई सर्त राखेको छ । रोक्का सम्पत्तिको कम्तीमा आधा रकम फुकुवा हुनुपर्ने, होर्मुज जलडमरूमध्यसम्बन्धी प्रतिबन्ध र अवरोध हटाइनुपर्ने उल्लेख छ ।

एजेन्सीहरूको सहयोगमा