३० असार २०८३, मंगलवार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘श्री ८’ को संज्ञा दिँदै सरकारले नागरिकलाई प्रश्न गर्नसमेत रोक लगाउन खोजेको आरोप लगाएका छन् ।
उनले सरकारले नागरिकले आफूले सुन्न चाहेको विषय मात्रै बोल्न पाउने अवस्था सिर्जना गर्न खोजेको आरोप लगाए । प्रश्न गर्नेहरूमाथि दमनको नीति लिइएको भन्दै उनले आपत्ति जनाए ।


सचेतक राईले पार्टी सभापति गगन थापा तथा विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि सवारीसाधन राखेर प्रश्न गर्नेहरूलाई त्रसित बनाउने काम भएको बताए ।
उनले सुकुम्बासी बस्ती, गणेश नेपाली मृत्यु प्रकरण र सडकमा सवारीसाधन राखेर सिर्जना गरिएको त्रासका घटनालाई एउटै प्रवृत्तिसँग जोडेर हेर्नुपर्ने बताए ।
‘आफैँले ल्याएको सरकारको लाठी आज उनैले खाइरहेका छन् । सोमबारको घटना सभापतिज्यूको घरमा मात्रै भएको होइन । कान्तिपुर, अनलाइनखबर जस्ता प्रतिष्ठित समाचार गृहमा पनि त्यस्तै गाडी छाडेर हिँडिन्छ । त्यो पनि सत्तारुढ दलका नेताको गाडी हो,’ उनले भने ।
उनले प्रश्न गर्ने नागरिकलाई सजाय दिने प्रवृत्ति सरकारले देखाएको आरोप लगाए ।
‘प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति छ सरकारको । बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन । बहुमतले जनताको अधिकार कुल्चन पाउँदैन,’ उनले भने ।
सचेतक राईले गृहमन्त्रीले समेत आफ्नो मन्त्रालयको कमजोरी स्वीकार नगरी स्थानीय तहलाई दोष दिने गरेको आरोप लगाए ।
उनले सरकारले संविधान र कानूनको सीमाभित्र रहेर उठाइने प्रश्नभन्दा आफूलाई माथि देखाउन खोजेको बताए ।
‘सरकारले खासगरी श्री ८ बालेन्द्र साहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यो सरकार भन्दैछ– तँ बोल, जे म सुन्न चाहन्छु । तँ हेर, जति म देखाउन चाहन्छु,’ उनले भने ।
सचेतक राईले सरकारलाई जनताको अधिकार कुल्चने कुनै अधिकार नभएको बताए । उनले प्रश्न गर्ने नागरिकमाथि दमन नगर्न सरकारलाई सचेत गराए ।