इरानले डरले ट्रकमा लुकेर विमान बदलेको ट्रम्पले गरे स्वीकार

होमल्याण्ड खबर

२०८३ श्रावण २७ गते, बुधबार १०:४५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा इरानको डरका कारण आफूले विमान बदलेको कुरा स्वीकार गरेका छन्। पत्रकारहरूसँगको कुराकानीमा उनले नाटो शिखर सम्मेलनमा भाग लिन जाँदा प्रयोग गरेको विमानमाथि आक्रमणको सबैभन्दा बढी खतरा रहेको स्वीकारेका हुन् ।

ट्रम्पले सुरक्षा कारणले गर्दा आफूलाई विमानस्थलको क्याटरिङ ट्रकमा राखेर अर्को विमानसम्म लगिएको पनि बताए।

‘यदि कुनै आक्रमण हुन्थ्यो भने त्यही विमानलाई निसाना बनाइन्थ्यो। सुरक्षा निकायहरूले जे भन्छन्, म त्यही गर्छु। मलाई लगातार धम्कीहरू आइरहन्छन्,’ उनले भने ।

कतारले उपहार दिएको विमानमा गए, सैन्य विमानबाट फर्किए

यसअघि वासिङ्टन पोस्टले ८ जुलाईमा अंकाराबाट प्रस्थान गर्ने क्रममा ट्रम्प क्यामेरासामु बोइङ ७४७-८ एयरफोर्स वानमा सवार भएको दाबी गरेको थियो। यो विमान उनलाई कतारले उपहारमा दिएको थियो र यसैबाट उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका थिए।

रिपोर्टअनुसार, त्यसपछि विमानस्थलमा सामान र खाना पुर्‍याउने क्याटरिङ गाडीको मद्दतले उनलाई चुपचाप अमेरिकी वायुसेनाको भीआईपी सैन्य विमान सी-३२ए सम्म पुर्‍याइएको थियो।