२१ भाद्र २०८३, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा महत्वपूर्ण छलफल भएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पु¥याउन अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाएकोमा गणतन्त्र कोरिया सरकारप्रति हार्दिक आभार व्यक्त गरे ।


उनले बाढीपीडित नागरिकहरूका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति समेत धन्यवाद व्यक्त गरे ।
विपद्पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपद्बाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने बताउनुभयो। यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वाससमेत उनले व्यक्त गरे ।