९ मंसिर २०८१, आईतवार
नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो आज फ्रान्सतर्फ प्रस्थान गरेका छन् ।
आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा नेपाल आएका मन्त्री कोनोले आजै बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी सँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको बताइएको थियो ।
वार्तामा २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्ने तथा नेपाली श्रमिकलाई जापानमा रोजगारीमा पठाउन दुवै मुलुकबीच सहमति भएको थियो ।
मन्त्री कोनोलाई नेपालका लागि जापानका राजदूत मासामिची साइगो र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन्।