४ मंसिर २०८३, बिहीबार
बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव चुलिएको छ ।
पछिल्ला दुई दिनमा सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका विभिन्न शाखामा आगजनी गरिएको छ ।


त्यस्तै, चटगाउँको मोहम्मद युनुसको पैतृक घरमा पनि अज्ञात समूहले आगजनी गरेको छ ।
ढाकामा अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको समाचार छ ।
२८ जिल्लामा बम विस्फोट र मानवीय क्षति
बंगलादेशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा दर्जनौं घरेलु बम विस्फोट भएका छन् । विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी गरिएको छ ।
हिंसाका घटनामा राजधानी ढाकामा कम्तीमा चार जना घाइते भएका छन् । पश्चिमी नराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले बीएनपीको र्यालीमाथि गरेको आक्रमणमा सत्तारुढ दलका दुई स्थानीय नेताको मृत्यु भएको समाचारमा जनाइएको छ ।
त्यस्तै, फरीदपुर र पिरोजपुरमा एक बीएनपी नेता र एक यातायात मजदुरको पनि मृत्यु भएको छ ।
स्वदेश फर्किने शेख हसिनाको घोषणापछि तनाव
अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो ।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन् ।
यसै महिनाको सुरुवातमा उनले मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गरेकी थिइन् । त्यसयता देशमा राजनीतिक तनाव बढ्दै गएको छ ।
मंगलबार हसिनाको गृहनगर तुंगिपारामा उनका समर्थक भएको आशंकामा करिब ३० जना पक्राउ परेपछि सयौं मानिसले प्रहरी चौकी घेराउ गरेका थिए । प्रदर्शनकारीको घेराउपछि प्रहरीले चौकी खाली गर्नुपरेको थियो ।
बुधबार राति प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई ‘आतंकवादी संगठन’ र ‘पराजित फासिस्ट शक्ति’ को संज्ञा दिँदै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।
मंगलबार राति संसदमा सम्बोधन गर्दै उनले सन् २०२४ को आन्दोलनको भावनासहित फेरि एकजुट भएर निरंकुश शक्तिलाई निर्णायक रूपमा पराजित गर्नुपर्ने बताएका थिए ।
द डेली स्टारका अनुसार रहमानले सरकारी संयन्त्रमा मात्र निर्भर नभई सांसदहरूलाई सडकमा समेत सक्रिय हुन आग्रह गरेका छन् ।
सुरक्षा व्यवस्था कडा, ढाकाबाट ५६५ जना पक्राउ
बढ्दो हिंसा नियन्त्रण गर्न सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । शेख हसिनाको जन्मस्थान गोपालगञ्जसहित विभिन्न जिल्लामा अर्धसैनिक बल बोर्डर गार्डका हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीले पछिल्लो २४ घण्टामा ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हसिना नेतृत्वको मन्त्रिपरिषद्का पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत छन् ।
गृहमन्त्री सलाहुद्दिन अहमदले अडियो तथा भिडियो प्रमाणका आधारमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गरिने बताएका छन् ।
सन् २०२४ मा हसिना नेतृत्वको सरकार ढलेपछि युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो । त्यस अवधिमा बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको ढाकास्थित धानमण्डी निवास तथा सन् १९७१ को मुक्ति संग्रामसँग सम्बन्धित स्मारकहरूमा समेत तोडफोड र विध्वंसका घटना भएका थिए ।
पछिल्लो हिंसाले बंगलादेशको राजनीतिक अस्थिरता पुन: चर्किएको संकेत गरेको छ ।