बेलायती प्रधानमन्त्री मेको योजना संसदबाट अस्वीकृत

होमल्याण्ड खबर

२०७५ माघ २ गते, बुधबार १३:०६ मा प्रकाशित

ब्रेक्जिट डिल अर्थात युरोपेली युनियन (ईयू) बाट अलग हुने बेलायती प्रधानमन्त्री टरिजा मेको योजना संसदबाट अस्वीकृत भएको छ ।

प्रधानमन्त्री मेकै दल कन्जर्भेटिभ पार्टीका ११८ जना सांसदले विपक्षमा मत दिएपछि योजना संसदबाट अस्वीकृत भएको हो ।

उनको योजनाको विपक्षमा ४३२ जना सांसदले मत दिएका थिए भने उनको समर्थनमा मात्र २०२ जना सांसदले मत दिएका थिए ।

बेलायती संसदको इतिहासमा कुनै पनि प्रस्तावमा सरकारी प्रस्तावको यो सबैभन्दा ठूलो हार हो । तर, यो पनि सत्य हो कि विपक्षी लेबर पार्टीका तीन सांसदले भने ब्रेक्जिट डिलको पक्षमा मत दिए ।

मतदानअघि मेले संसदलाई सम्बोधन गर्दै आफ्नो योजनाको बचाउ गरेकी थिइन् ।

भावुक र आवेशपूर्ण सम्बोधनका क्रममा उनले ब्रेक्जिट डिलमाथि भएको मतदान आफ्नो राजनीतिक करियरकै सबैभन्दा महत्वपूर्ण क्षण भएको बताएकी थिइन् ।

प्रधानमन्त्रीको योजनाको ऐतिहासिक हारपछि लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले भनेका छन् कि जसरी प्रधानमन्त्रीको ब्रेक्जिट डिल खारेज भयो, उसले प्रष्ट भएको छ कि सरकारले संसदको विश्वास गुमायो ।

सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार बहस हुनेछ ।