नेपाली टोपी दिवस सम्पन्न,

होमल्याण्ड खबर

२०७४ पुष १७ गते, सोमबार १०:०५ मा प्रकाशित

अन्तराष्ट्रिय पहिचानका लागि टोपी नै उपयूक्त माध्यम: प्रधानमन्त्री देउवा

१ जनवरी २०१८ को अवसर पारेर पाँचौ अन्तराष्ट्रिय नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
शताब्दीऔंदेखि शीर सजाउँदै आएको विभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई संस्थागत गर्ने प्रयास भएको छ । नेपाली टोपीको लोकप्रियतालाई अझै व्यापक र विश्वमय बनाउने तथा नेपालीहरुको राष्ट्रिय र अन्तराष्ट्रिय पहिचानलाई स्थापित गर्ने उद्देश्यले २०१४ जनवरी १ देखि नेपाली टोपी दिवस मनाउदै आएको छ । यहि अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना व्याक्त गर्दै टोपीका माध्यमबाट देश विदेशमा रहेका नेपालीहरुले स्वाभिमानी महशुस गर्न आग्रह गर्नु भयो । नेपालको कला र पहिचानलाई विश्वव्यापी बनाउन टोपी नै उपयूक्त माध्यम भएको उल्लेख गर्नु भयो ।
विगत ४ वर्षदेखि अभियानका रुपमा मात्र रहेको अन्राष्ट्रिय नेपाली टोपी दिवसलाई थप व्यवस्थित र विश्वव्यापी बनाउने उदेश्यले नेपाली टोपी प्रतिष्ठान सामाजिक संस्थामार्फत औपचारिक शुरुवात गरेको थियो । पाँचौ अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउने क्रममा, ‘नेपाली टोपी प्रतिष्ठान’ का तदर्थ समितिका सदस्यहरुले, सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतित्थतामा कार्यक्रम सम्पन्न गरेका छन् । प्रतिष्ठानका पदाधिकारीहरुले प्रधानमन्त्री सचिवालय बालुवाटार पुगी प्रधानमन्त्री शेर बहादुर देउवालाई नेपाली टोपी र मायाको चिनो प्रदान गरेका छन ।
उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले संस्थाका सदस्यहरु शंकर बन्जाडे, प्रकाश अधिकारी, भुवन नेपाल, प्रभाकर आचार्य, सन्जिव पुडासैनी र रोशन झालाई नेपाली टोपी लगाई दिनु भएको थियो । यस वर्ष टोपी दिवसलाई थप विश्वव्यापी बनाउन, गैर आवासीय नेपालीहरुको अन्तराष्ट्रिय संगठन एनआएनसँग समन्वय गरेर विश्वका ७८ देशहरुमा पनि विभिन्न कार्यक्रम गरी नेपाली टोपी दिवस मनाइएको छ । नेपाली टोपी प्रतिष्ठानका संस्थापक द्वय डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले अन्तराष्ट्रिय रुपमा नेपाली टोपी दिवसको प्रर्वद्धन गदै आइरहनु भएको छ ।

नवगठित संस्थाका अधक्ष्य एवं टोपी दिवसका संस्थापक शंकर बन्जाडे भन्छन, ‘नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ–आफ्नो धर्म जाति र संस्कृतिअनुसार पहिरिएका सबै प्रकारका टोपी नेपाली टोपी नै हुन् ।’ नेपाली टोपी, नेपाल र नेपालीमूलका बसोबास गर्ने सबै देश र स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न भएको बताउँदै संस्थाका सचिव प्रकाश अधिकारीले नेपाली टोपी दिवसलाई जनवरी १ तारिकका दिन मनाउनुको प्रमुख उद्देश्य अंग्रेजी नयाँ वर्षलाई नेपाली टोपीमय बनाउनु रहेको जानकारी दिनु भयो । दिवसले नेपाली टोपीलाई नेपालीहरुको अन्तराष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनेमा टोपी नै उपयूक्त माध्यम भएको सचिव अधिकारीको धारणा रहेको छ । पछिल्ला वर्षहरुमा यस दिवसलाई नेपाल पर्यटन बोर्डले पनि चासोका साथ लिएको छ ।