८ मंसिर २०८१, शनिबार
१२ असोज, काठमाडौं । दशैंका समयमा हवाई यात्रु बढ्ने क्रम दुई वर्षयता ह्वात्तै बढेको छ । यसपालिको दशैंमा मात्रै ९६ हजार पाँच सय ५६ जना हवाइमार्गमार्फत् उपत्यकाबाट बाहिरिँदै छन् ।
नारायणगढ-मुग्लिन सडक विस्तारका कारण लथालिंग रहेका कारण हवाईमार्गमा चाप बढेको हो । जहाज संख्या बढे पनि यात्रुको चाप थेगिनसक्नु छ । बढ्दो चाप मध्यनजर गर्दै एयरलाइन्सहरुले उडान संख्या थपेका छन् ।
वायु सेवा सञ्चालक संघका अनुसार गत वर्ष दशैंमा ७० हजार चार सय ३९ यात्रुले हवाइमार्ग प्रयोग गरेका थिए । ०७२ सालको दशैंमा ४१ हजार आठ सय ७४ जनाले मात्र दशैंमा हवाइजहाज प्रयोग गरेका थिए ।
दशैंको समयमा उपत्यका भित्रने यात्रु न्युन हुन्छन्, जसका कारण एयरलाइन्सहरुले काठमाडौं आउने भाडा घटाउँछन् । बाहिरिनका लागि भने टिकट पाउन हम्मे पर्छ ।
उपत्यकाबाट बाहिरिने शतप्रतिशत टिकट बुकिङ भइसकेको बुद्ध एयरकी मार्केटिङ म्यानेजर विनिता थापा बताउँछिन् । भन्छिन्, ‘सुरक्षित यात्रा र समयको बचत हुने गरेका कारण दशैंंमा हवाइ यात्रु बढेका हुन् ।’
जहाजको क्षमता र संख्याका कारण पनि बुद्ध एयरका जहाजबाट बाहिरिने यात्रु बढी छन् । दशैंको समयमा ५२ हजार ६ सय ४९ जनाले सोही एयरलाइन्सका जहाज प्रयोग गर्दैछन् । गत वर्ष यो संख्या ४४ हजार पाँच सय ५६ थियो ।
हालै सञ्चालनमा आएको श्री एयरलाइन्सले दशैंमा नौ हजार पाँच सय ७७ जनालाई सेवा दिने आकलन छ ।
ट्रंक रुटमा यती एयरलाइन्सका जहाज पनि भरिभराउ छन् । वर्ष २१ हजार दुई सय ४७ जनाले दशैंमा यतीमा जहाज प्रयोग गर्दैछन् । गत वर्ष यो संख्या १८ हजार तीन सय ६६ थियो । सौर्य र सिमि्रक एयरका जहाज पनि खाली छैनन् ।
तराईका विमानस्थलमा उत्रिने यात्रीका कारण जहाज कम्पनीबीच जहाज थप्ने होड नै चलेको पाइन्छ ।
गत वर्षको तुलनामा यसपालि १० वटा जहाज थपिएका छन्. । त्यससँगै सिट र उडान संख्या पनि बढेको छ । यात्रुको चाप भने उस्तै छ । करिब तीन सय ७० वटा सिट थपिएका छन् । गत वर्षभन्दा यस वर्ष एउटै एयरलाइन्सले एकै स्थानमा चार वटासम्म उडान थपेका छन् ।