नेपाललाई सहयोग स्वरुप जापानद्वारा ८४ लाख रुपैयाँ पर्ने ब्रेल प्रिन्टर्स हस्तान्तरण

होमल्याण्ड खबर

२०७५ माघ २५ गते, शुक्रबार १६:५६ मा प्रकाशित

जापानले ८४ लाख रुपैयाँ बराबरको ब्रेल प्रिन्टर्स सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ । काठमाडौंस्थित जापानी दूतावासका उपनियोग प्रमुख यूजो योशिओकाले शुक्रबार एक समारोहबीच उक्त प्रिन्टर्स नेपाल एसोसिएसन फर दि वेलफेयर अफ द ब्लाइन्ड नामक एक गैरसरकारी संस्थालाई हस्तान्तरण गरेका हुन् ।

“नेपालका दृष्टिविहीन विद्यार्थीको उपयोगका लागि उपलब्ध गरिएको ब्रेल प्रिन्टर्स जापान सरकारको तल्लो तहमा मानव सुरक्षा परियोजना अन्तर्गत अनुदान सहयोग स्वरुप प्रदान गरिएको हो,” काठमाडौंस्थित जापानी दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ । उक्त अनुदान सहयोग ८२ हजार २ सय ५७ अमेरिकी डलर बराबरको रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनुदान सहयोग स्वरुप प्रदान गरिएको ब्रल प्रिन्टर्सले ब्रेललिपीका पाठ्यपुस्तक छाप्न सहयोग पुग्ने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ । यसले दृष्टिविहीन विद्यार्थीको अध्ययनमा थप सहयोग पुर्याउने जनाइएको छ ।

“परियोजना कार्यन्वयन अगाडि विद्यार्थीले मागअनुसार नयाँ शैक्षिक सत्र सुरु हुनु अघि बे्रललिपी पाठ्यपुस्तक उपलब्ध गराउन कठिन पर्दै आएको थियो । नयाँ प्रिन्टिङ उपकरणले समयमै पाठ्यपुस्तक छापी विद्यार्थीसम्म पुर्याउन सहयोग पुर्याउने छ,” विज्ञप्तिमा भनिएको छ ।