८ मंसिर २०८१, शनिबार
सुरेश सुवेदी
आगो अनिवार्य शक्ति हो, नभै हुदैन तर अनियन्त्रित भयो भने यसले धेरैको अन्त्य गर्छ । मुलुकभर दमकल संख्या ७१ वटा मात्र छन् । त्यसमा पनि पर्याप्त व्यावस्था नहुनु अत्यन्त जोखिमपूर्ण अवस्था देखिन्छ । गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको प्रोफाइल चित्रमा पनि लेखिएको छ, ‘नेपालमा आवासीय उद्देश्यका लागि बनाइएका घरहरू एकै किसिमका छन् जसमा आगोले समात्ने र तुरून्त फैलिने जोखिम सधैं रहन्छ ।’
उक्त सचेतना सामाग्रीमा सुख्खा मौसममा आगलागीका बढी घटना हुने उल्लेख गर्दै विशेषगरी मध्यपहाडी र तराईमा सचेत हुन आग्रह गरेको छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका गरी ७ सय ५३ स्थानीय तहमा जम्मा दमकलको संख्या ७१ मात्र रहेको छ ।
हरेक वर्ष फागुन, चैत, वैशाख र जेठमा ठूलठूला आगलागीका घटना हुने गरेको तथ्यांक छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार २०७४ वैशाखदेखि माघ मसान्त १० महिना अवधिमा देशभर १ हजार दुई सय ५९ आगलागीका घटना भएका छन् । ती घटनामा ६५ जनाले ज्यान गुमाए भने २ सय २४ जना घाइते भए । १ हजार २ सय ७५ घरमा क्षति पुगेको छ । स्थानीय स्तरमा निभाएका आगलागीका घटना यस तथ्यांक समावेश छैन् ।
दिनहुँजसो आगलागीका घटना भइरहँदा पनि सरकारले नगरपालिकामा दमकलको व्यवस्था गर्न सकेको छैन । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका उपसचिव शंकरहरि आचार्यका अनुसार नभएका नगरपालिकाहरुमा दमकल पु¥याउने योजना छ ।’ उपसचिव आचार्यले भने, ‘सुख्खायाम आउनै लाग्दा अब कार्ययोजना बनाउने तयारीमा छौं ।’ स्थानीय मन्त्रालयले गत वर्ष मात्र हरेक नगरपालिकालाई दमकल खरिदका लागि अनुदान उपलब्ध गराएको थियो । मन्त्रालयको ९० प्रतिशत अनुदान रकममा १० प्रतिशत नगरपालिकाले थप गरेर खरिद गर्न भनिएको थियो । जसले कारण केही नयाँ नगरपालिकामा समेत दकमल थप भएको छ । तर पनि दमकल सञ्चालन खर्चिलो हुँदा नगरपालिकाले चासो नराख्ने सम्बन्धित निकायको गुनासो छ ।
बढ्दो शहरीकरणसँगै नेपालमा आगलागीको प्रकृति तथा आगोका श्रोतहरु पनि फरक फरक हुँदै गइरहेका छन् । आगलागी हँुदा नियन्त्रण गर्न पानीको प्रयोग गर्नु पर्दछ भन्ने आमधारणा छ तर सबै खाले आगलागीमा पानीको प्रयोग गर्न सकिँदैन आगोको श्रोत र प्रकृतिअनुसार पानी, फोम अन्य केमिकलको मात्रा तथा उपयूक्त विधिको प्रयोग गर्नुपर्छ ।
पर्साका एसपी गणेश रेग्मीका अनुसार बुलेटबाट ग्यास लिक भएर उद्योगमा आगलागी भएको थियो । घटना स्थलमा सिलिन्डर विष्फोट भइरहेकोले स्थिति भयवित र अनियन्त्रित भएको थियो । अनुसन्धानमा सक्रिय एसपी गणेश रेग्मीका भनाइले पनि अबको समाधान पानीबाट मात्र संभव छैन् ।
केमिकल तथा केमिकलबाट बनेको वस्तुमा भएको आगलागीमा पानीको सिधै प्रयोग गर्दा यस्तो आगोमा रासायानिक प्रतिक्रिया भई आगो बढ्ने र झन फैलने गर्दछ । त्यसैले यस्ता प्रकारका आगलागीमा सीधै आगोमा पानी नहाली वरिपरिको वातावरणलाई चिस्याई पानीको छहरा बनाई पानीको प्रयोग गर्न सुझाव दिन्छन् एसियन प्रफेसनल सेकुरिटी एसोसिएसन–नेपाल च्याप्टरका उपाध्यक्ष लोकेसमान मानन्धर ।
मानन्धरका अनुसार, पेट्रोल, डिजेल, मट्टीतेल तथा केमिकललाई खतराजन्य पदार्थ भनिन्छ । जसलाई एटिङगुसरमा बि ले संकेत गरिएको हुन्छ । खतराजन्य पदार्थ भनेको यस्तो वस्तु हो जुन अत्याधिक प्रज्वलनशील र विषाक्त पनि हुन्छ । मानवीय नियन्त्रण, निगरानी र सावधानी बिना वातावरणमा छाडियो भने यसले वातावरण मात्र होइन मानव स्वास्थ्यमा समेत गम्भीर असर गर्दछ ।
नेपालमा खतराजन्य पदार्थको खपत भण्डारण तथा ओसारपसार उल्लेख्य मात्रामा हुने गर्दछ । यस्ता खतराजन्य पदार्थहरुको खपत तथा कारोबार हुने स्थान पेट्रोल पम्प, औद्योगिक क्षेत्र तथा कलकारखाना स्वभावैले पनि बढी हुने गर्दछ । तर यी स्थान आगलागीको दृष्टिले कति सुरक्षित छन् यसमा कार्यरत कर्मचारीलाई आगलागीसम्बन्धी सचेतनाको अवस्था एक दम दयनीय देखिन्छ । राजधानीमा भएको पेट्रोल पम्प, त्यस आसपासका बस्ती तथा औद्योगिक क्षेत्रमा आगलागीको अत्यन्त जोखिम देखिन्छ । तथा त्यसबाट हुन सक्ने जनधनको क्षति वा सावधानीका सन्दर्भमा व्यासायी तथा सरकारी उदासीनता सहजै अनुमान गर्न सकिन्छ ।
काठमाडौ महानगरपालिका, विपद व्यवस्थापन विभागअन्तरगत आपत्कालिन परिचालनकेन्द्रका पूर्व प्रमुख किशोर कुमार भट्टराई नीति निर्माण तहबाट नै जोखिम व्यवस्थापनबारे पहल गर्नु पर्नेमा जोड दिन्छन् । भट्टराईअनुसार, धेरै मानिस प्रभावित हुने बस्ती तथा जनधनको बढी क्षति हुने उद्योगधन्दा कलकारखाना औधोगिक ग्राम, पेट्रोल पम्प तथा पेट्रोल भण्डारण स्थल अग्नि सुरक्षित बनाउनै पर्छ । यसका लागि त्यसमा संलग्न कर्मचारीलाई नियमित तालिम दिई प्रशिक्षित गर्ने र कदंकदाचित आगलागी भइहालेमा त्यसबाट कसरी बच्ने सावधान हुनै पर्छ ।