३ मंसिर २०८१, सोमबार
नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ले अग्नि सापकोटालाई सभामुखमा प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
ज्यान मुद्दामा किटानी परेका अग्नि सापकोटालाई सभामुखमा प्रस्ताव गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै आपत्ति जनाएका हुन् ।
सापकोटाविरुद्ध काभ्रेमा १० वर्षअघि अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो । नेकपाले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका सापकोटालाई सभामुखमा सिफारिस गरेपछि कांग्रेस प्रवक्ता शर्माले राजनीतिक दल र संसद विचाराधीन मुद्दामा पनि उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् ? भनेर प्रश्न गरेका छन् ।
‘दल या सरकारको नेतृत्वभन्दा संसदको नेतृत्व फरक गरिमा, शालीनता र सन्तुलनको संस्कारगत छविसमेत अनुभूति हुनुपर्ने जिम्मेवारी हो,’ उनले ट्विटमा भनेका छन्, ‘सत्य निरुपणको टेबुलमा थियो त अलग कुरा अन्यथा अदालतमा विचाराधीन मुद्दामा के उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् राजनीतिक दल या संसद ?’
सभामुखमा सत्तारूढ नेकपाबाट सिफरिस सापकोटाविरुद्धको किटानी जाहेरीसँगै द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले २०७२ चैत २२ मा सशस्त्र द्वन्द्वसँग सम्बन्धित रिट निवेदन संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो ।
कांग्रेस प्रवक्ता शर्माले राजनीतिमा अनेक पात्र र प्रवृत्ति हुने गरेको भन्दै पदअनुसार व्यक्ति छनोट हुन नसके पदका गरिमा धरापमा पर्ने र राजनीतिप्रति थप वितृष्णा उत्पन्न हुने स्मरण गराएका छन् ।
“राजनीतिमा अनेक पात्र र प्रवृत्ति हुन्छन् । कुन पदमा कस्तो प्रवृत्ति ? छनोट उचित भएन भने त्यो पदको गरिमा त धरापमा पर्छ नै राजनीतिप्रति नै थप वितृष्णा बढ्छ । श्री पशुपतिनाथले बहुमतधारी नेकपालाई सद्बुद्धि प्रदान गरुन् ! जय नेपाल !,” उनले लेखेका छन् ।