३० कार्तिक २०८१, शुक्रबार
नेपालीहरुको अनावश्यक बानीका कारण जङ्क फुड र नक्कली पेयको पैठारी बढेर खर्बौ रुपैयाँ बिदेसिएको बताउदै स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरेका छन् ।‘लिची र आँपको बोक्रा पनि देखेको हुँदैन, लिचीे र कुनै आँपको जुस रे’, यसअघि भनेकै कुरा दोहार्याउदै ओलीले भने, ‘खायो भने लिची र आँपको जस्तै स्वाद आउँछ, आहा कति मिठो भनिन्छ । तर वास्तवमा त्यो केमिकलको नक्कली स्वाद हो ।’ मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली उक्त आग्रह गरेका हुन् ।
यस्ता वस्तुको आयात र उपभोगले खर्बौं रुपैयाँ बाहिर जाने र उपभोक्ताको स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्ने उल्लेख गर्दै ओलीले नेपालमै फलफूलका जुसका उद्योग खोलेर आत्मनिर्भर हुनुपर्ने र बाहिरबाट आउने नक्कली जुसको उपभोग कम गर्नुपर्ने बताए । ‘खाजाका लागि मकै भटमास भुटेर खाए भइगयो नि, किन खानुपर्यो कर्न फ्लेक्स ?’
ओलीले मञ्चमा सहभागिलाई प्रश्न गर्दै भने, ‘चिउरा नै खाने भए आयात गरेको मकैको चिउरा किन खानु ? नेपालमै बनेको धानको चिउरा खाए अझ तागत हुने बताउदै, मकैभटमासमा त झन धेरै तागत हुने कुरालाई दोहार्याएका थिए । उनले कोलकाताबाट ल्याइएका फर्म्लिन हालेका माछा खाएर मानिसहरूको प्रजनन शक्ति ह्रास भइरहेको पनि दोहोर्याए।प्रधानमन्त्रीले भने, ‘बुढापाकाले खाए त ठिकै होला, भर्खरका युवायुवतीले खाए भने बरबाद । नियमित खानेले परिवार नियोजन नै गर्नु नपर्ने रहेछ । दश वर्षमा प्रजनन शक्ति शून्य ।’ ओलीले उत्पादकत्व बढाउने, रोजगारी सृजना गर्ने र आत्मनिर्भरता बढाउने उद्योग खोल्न आग्रह गरे ।
‘बिहानै उठेर जुन सामान पहिले छोए पनि विदेशी हुन्छ’, उनले सुनाए, ‘दाह्री काट्ने ब्लेड र क्रिम अर्कै देशको, दाँत माझ्न लाग्यो मन्जन र बुरुस पनि अर्कै राष्ट्रको । लुगा पनि उतैको । युनिलिभर, कोलगेट, पेप्सोडेन्ट, पतञ्जली के–के हो के–के ? बिहानै उठेर आफ्नै देशमा बनेको बास्नादार मन्जनले दाँत माझ्न पाए कति मजा हुन्थ्यो होला !’
मुलुकमा उत्पादित कपास कुहिएर जाने गरेको र त्यसबाट धागो बनाउन नसकिएको उनको कथन थियो । उनले कपास, धागो र कपडा यहीँ तयार गरेर गार्मेन्ट उद्योग पनि स्वदेशमै खोलिनुपर्ने राय प्रकट गरे ।’व्यापार घाटा प्रशस्त छ, अब उद्योगतिर नगई हुँदैन’, प्रधानमन्त्रीले कार्यक्रममा उपस्थित व्यवसायीलाई उद्योग खोल्न के सुविधा चाहियो भन्ने प्रश्न गरे । उनले सोधे, ‘कस्तो नियम र कानुन चाहियो ? कुन ऐन वा कानुनमा संशोधन गर्नुपर्यो ? मातहतलाई कस्तो निर्देशन दिनुपर्यो ? कुन मुलुकको सरकार वा त्यहाँका नेतासित कुरा गर्नुपर्यो ? तपाईं उद्योग खोल्न चाहनुहुन्छ भने आउनूस् म सबै कुरा गर्न तयार छु ।’
‘यति सहज स्थिति पहिले थिएन, अहिले त म चिन, भारत र अन्य छिमेकी मुलुकका प्रधानमन्त्री, मन्त्री र नेतासित सजिलै र सिधै कुरा गर्न सक्छु’, प्रमको भनाइ थियो, ‘यस्तो अवसरको फाइदा उठाउनूस् । आउनूस्, कुन उद्योग खोल्न चाहनुहुन्छ, म सहयोग गर्न तयार छु ।’चिनीका पैठारीकर्तालाई मार नपर्ने गरी भन्सार महसुल बढाइएको प्रधानमन्त्रीको दाबी थियो । स्वदेशका चिनी उद्योग र उखुखेतीको संरक्षण गर्नुपर्ने हुँदा चिनीको महसुल बढाउनु आवश्यक परेको उनको भनाइ थियो ।
ओलीले सुनाए, ‘पाकिस्तानबाट सहुलियतमा चिनीको पैठारी गरिएको रहेछ । मैले पाकिस्तानका प्रधानमन्त्रीलाई तपाईंको चिनी हाम्रो मुलुकमा प्रशस्त भित्रिएको छ नि भनेर सोधेँ । उनले आफ्नो मुलुकमा उखु र चिनीको उत्पादन प्रशस्त भएकाले निर्यातमा सहुलियत दिएको बताए । अनि उनले अर्को कुरा के थपे भने, तपाईंको भन्दा हाम्रो मुलुकका जनताले चिनीमा महँगोमा किनेर खान्छन् । चिनीको खुद्रा मूल्य तपाईंको मुलुकमा भन्दा डेढ गुणा बढी हाम्रो मुलुकमा छ भनेर उनले उत्तर दिए । खासमा निर्यातमा मात्र सहुलियत दिइएको रहेछ ।’
प्रधानमन्त्री ओलीले पहिलेका सरकारले गरेजस्तो उदारीकरण र निजीकरणका नाममा बेच्ने र खाने अर्थनीति अब चल्दैन भन्ने विचार व्यक्त गरे ।
‘सेटिङ र कमिसन अब चल्दैन, छानिछानी कर्मचारी लैजाने काम पनि अब बन्द हुन्छ’, उनको आग्रह थियो, ‘फलानै कर्मचारी चाहिन्छ भन्ने दिन अब गए । तपाईंहरू पनि अब सेटिङतिर नलाग्नूस । सेटिङमा नलागेपछि अन्डरह्यान्ड छुट्टै रकम दिनुपर्दैन । अनि छुट्टै बही खाता पनि राख्नुपर्दैन ।’यसअघि मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङका अध्यक्ष क्रमशः पवन शारडा र मुकेश उपाध्यायले व्यावसायिक क्षेत्रका समस्या प्रस्तुत गरेका थिए ।