रेल मार्गका लागि पूर्वका तीन जिल्लाको मात्र ७५० विघा जग्गा अधिग्रहण गरिने

होमल्याण्ड खबर

२०७७ चैत्र ५ गते, बिहीबार ११:५२ मा प्रकाशित

पूर्वपश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ बाट नै शुरु भएपनि काम भने सुस्त गतिमा  छ । पूर्वका झापा, मोरंग र सुनसरी क्षेत्रमा जग्गा अधिग्रहण गर्ने काम र विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) सँगसँगै तयार गर्ने काममा नै समय लागिरहेको  रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।

९ सय ४५ किलोमिटर लामो र एक सय ६ वटा स्टेशनहरु रहने उक्त रेल मार्गको जग्गा अधिग्रहणमा धेरै समय लाग्ने भएकाले निर्माण कार्य शुरु गर्न अझै समय लाग्ने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर  प्रकाशभक्त उपाध्याय बताउँछन् ।

उनका अनुसार हालसम्म रेल मार्ग निर्माणका लागि पूर्वका झापा, मोरंग र सुनुसरीका तीन जिल्लामा करिब ७ सय ५० विघा जमिन अधिग्रहणका लागि सूचना प्रकाशित गरिएको जानकारी दिए ।

रेल विभागका अनुसार यतिबेला बर्दिबास निजगढदेखि सिमरासम्मको १०७ किलोमिटरमध्ये ३० किलोमिटरको क्षेत्रमा पर्ने तीन जिल्ला बर्दिवास, सर्लाही र रौतहट खण्डमा रेलमार्ग निर्माणको काम भइरहेको सिनियर डिभिजनल इन्जिनियर  प्रकाशभक्त उपाध्यायले बताए ।

प्रारम्भमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको परियोजना नेपालकै आर्थिक स्रोतमा निर्माण भइरहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर  प्रकाशभक्त उपाध्यायले जानकारी दिए । रेल निर्माणका लागि प्रतिकिलोमिटर ५० करोड खर्च लाग्ने विभागको प्ररम्भिक अनुमान रहेको उपाध्याय बताउछन ।

मेचीकाली विद्युतीय रेलमार्ग भारतसँग पाँच स्थानमा जोडिने सिनियर डिभिजनल इन्जिनियर  प्रकाशभक्त उपाध्यायले बताए । अन्तर्राष्ट्रिय संस्थाहरूको अनुरोधका आधारमा पूर्वपश्चिम रेलमार्ग जोड्न भारतले पाँचवटा लिक बनाउने भएको समेत उनले जानकारी दिए  ।

जलपाइगुढीबाट काँकडभिट्टा, बकनाहबाट विराटनगर, जयनगरबाट बर्दिबास, नौतनियाबाट भैरहवा र रूपैडियाबाट नेपालगञ्ज गरी पाँच ठाउँमा लिंक निमार्ण गरिदिने बताएको हो ।

यीमध्ये जनकपुर–जयनगर–बर्दिबास क्षेत्रको काम तिव्र रुपमा भइरहेको सिनियर डिभिजनल इन्जिनियर  प्रकाशभक्त उपाध्याय बताउछन् ।  यस्तै बकनाहबाट विराटनगर पनि निर्माण भइरहेको छ । यी पाँचवटा कनेक्सन भारतकै प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण हुने उनले  बताए ।

पूर्व–पश्चिम रेलमार्गअन्तरगत अहिले बर्दिबास–सर्लाही –रौतहत –लालबन्दी – निजगढ खण्डको १०६ किलोमिटरमध्ये ३० किलोमिटरको रेल्वे ट्रयाक निर्माण भइरहेको उपाध्याय बताएका छन ।