१३ मंसिर २०८१, बिहीबार
भुलाउन मन लाग्छ हेरि सुन्दर ठाउँ।
संझनामा सधैं आउने मेरो माइती गाउँ ।।
खोला नाला सुस्याउदा तिम्रै झल्को आउँछ ।
संझिदा त्यो अतितलाई गाउँकै माया लाउँछ।।
चेली टाढा हुदाँ पनि गाउँकै यादमा हुन्छे।
संझिएर गाउँको माया कल्पी कल्पी रुन्छे ।।
मेरो गाउँ जन्मेको ठाउँ भन्ने बित्तिकै गाउँका ति प्रत्येक घर मेरो माइती घर जस्तो लाग्छ। जहाँ मैले पहिलो पाइला टेकेकी थिए अनि हाँस्दै रमाउँदै संसार देखेकी थिए । जहाँ मेरो सबै भन्दा गहिरो सम्बन्ध छ,जहाँ दुःख अनि सुःख बिसाउने सितल चौतारी छ, जहाँ मलाई मायाको वर्षात हुन्छ । विडम्पना त यो छ की जहाँ म जन्मिए हुर्किए संसार चिन्न सके त्यो ठाउँकी अहिले म पाहुना भएकी छु यो कस्तो अचम्म !!!
जीवनमा हामीले केही गुमाएका हुन्छौ भने केही पाएका पनि हुन्छ फरक यति हुन्छ गुमेको देख्छौ गुमाउदा पिडा धेरै हुन्छ त्यसैले पिडाको महसुस हुन्छ तर पाएको महसुस गर्न सकिरहेका हुँदैनौ। भनिन्छ नि “मान्छेको जातै बैगुनी”! जहाँकी म पाहुना जहाँ पुग्दा सबै पिडा छिनमै हराइ दिन्छ। म माइती जाँदै गर्दा बाटाेमा अंकल भेट्दा नमस्ते अंकल भन्दै गर्दा उहाँले नानी कहिले आइस ? सबै आरामै छौं ? भन्दा कस्तो आनन्द महसुस हुन्छ । आफूलाई कति भाग्य मानी ठान्छु । कति छ नानी बसाइ ? म झसङ्ग हुन्छु अरे म यहाँको पाहुना पो त तर माया कति धेरै छ। त्यहीँ माया सधै संझनामा आउछ ।
आउदा खुसी जादा पिडा संसार यसरी चलिरहेको छ। यो एउटा जीवन चक्र हो। एकछिनको मायामा कयौं दिनहरु बितेको पत्तै हुँदैन । नानी सिमी फलेको छ टिपेर लैजा, भोलि यतै खाना खाम्ला है !! यो पनि माया हो नि!!तल्लो घरमा के छिरेकी थिए दिदी आउनु भयो भन्दै त्यसै दंग दिदी खोले साग ( सिम साग) पाको छु लैजानुस है। माया अनि आदर झल्काउने त्यो मिठो बोली!!मन त्यसै भरिएर आउँछ म पाउना भएर पति धेरै माया पाउदै छु। लाग्छ संसारकै भाग्य मानी मान्छे हो जो सँग यति धेरै माया गर्ने मनहरू छन ।मैले केही गुमाएको भन्दा पाएको महसुस हुन्छ । पल्लो घर जान्छु ठूली आमा भन्नुहुन्छ जात नानीलाई त्यो अचार ल्याइदै गएर वस्न नपाउदै खाने कुरा अाइपुग्छ। खान दिएको भन्दा पनि माया दिएकोमहसूस हुन्छ।। आँखा खुसीले रसाउछन यो कस्तो माया हामीले गुमाएका हरेक कुरामा पिडा हुन्छ भने पाएका हरेक कुराहरूमा माया लुकेको हुन्छ।।, दिदी अाज हाम्रो घरमा बिस्नुपर्छ है त्यो भदैले खुसीले हुँदै भन्छ आज दिदी आउनु भएको छ,दिदीले भन्छे बेल्का यसो माथि बाटो तिर जाम्ला है!! माया अनि खुसी त स-साना कुरामा लुकेर बसेको हुन्छ ।
जस्लाई हामीले कसरी लिएका हुन्छौं त्यसमा भर पर्छ। माथिल्लो घरकी बूढीबोइले हेरेर वस्नु भएको हुन्छ नानी आएकी छ हो बैनी? आमालाई सोध्नु हुन्छ!! यता आउदा पनि आइन त कस्तो माया लुकेको छ।चेलिबेटीलाई माइती सारै प्यारो लाग्ने। माइती गाउँमा जहाँ मायाको सागर छ ।।जब फर्कने दिन आउछ माइती घरलाई त पिर पर्ने नै भयो सबैलाई पिर पर्न थाल्छ आफ्ना पनि आँखा रसाउन सुरु हुन्छ बूढी हजुरआमा अब म कसरी बस्ने होला??आफूले अाफैलाई निष्ठुरी भएर समाल्नु पर्छ अनि मुस्कुराउनु पर्छ।।सबैको मायाको पोको बोकर जिन्दगी चल्दो रहेछ। माना दुई चनाका गेडा थिए ला लैजा यसो भुटेर खान हुन्छ।माथिल्लो घरकी आमाले दिएको मायाको पोको फर्सी लैजा नानी मन भने दाइले भारी बिसाउदै भाउजूले तरकारी पठाइदेकी छ है! चारैतिरका ती मायाका पोको पोकीहरू मनमा पीडा तर मसस्कुराउ नै पर्यो ।
त्यसले सधैं मनमा एउटै कुराले छोइरहन्छ र महसुस भइरहन्छ…” मेरो माइती गाउँ जन्मेको ठाउँ भन्ने वित्तिकै त्यहाँका प्रत्येक घर मेरो माइती घर जस्तो लाग्छ”।