बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डप’ निकालिए सागर

होमल्याण्ड खबर

२०८२ चैत्र २० गते, शुक्रबार १४:१९ मा प्रकाशित

कलाकार सागर लम्सालमाथि अमेरिकामा एक नेपाली युवतीमाथि बलात्कार गरेको आरोप लागेको छ । ती युवतीले सामाजिक सञ्जालमार्फत एक वर्षअघि सागर अमेरिका गएको बेला आफूमाथि उनले बलात्कार गरेको उजागार गरेकी छिन् ।

सामाजिक सञ्जालमा ती युवतीले घटना विवरण लेखेर सागर लम्साललाईसमेत ट्याग गरेकी छिन् । लम्सालमाथि बलात्कारको आरोप लागेपछि उनलाई निर्माणधीन चलचित्र पाँच पाण्डवबाट निष्कासित गरिएको निर्माणपक्षले जनाएको छ ।

निर्माणपक्षले आज एक विज्ञप्ति जारी गर्दै लम्सालमाथि जघन्य अपराधको आरोप लागेपछि आकस्मिक बैठक बसेर नैतिकताका आधारमा उनलाई चलचित्रबाट निष्कासित गर्ने निर्णय गरिएको जनाएको छ ।

कालीरानी फिल्म्सको प्रस्तुतीमा पाँच पाण्डवको निर्माण भइरहेको थियो । यो फिल्मका लागि सागर लम्सालको भूमिकाका धेरै सिन शूट भइसकेका थिए । तर, अब नयाँ कलाकारका साथ ती सिनहरू फेरि शूट गरिने भएको छ ।