९ मंसिर २०८१, आईतवार
२०३१ सालतिर पोखरा १४, कुँडहरको ३१ सय ६ रोपनी जग्गा अधिग्रहण गर्दा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले सायदै सोचेका थिए, कुँडहरु कालान्तरमा कंक्रिटको जंगल बन्छ ! वरपर बस्ती यति छिट्टै बस्ती बन्छ भन्ने भएको भए, सायद उनले एयरपोर्ट अन्यत्रै बनाउने सोच पो निकाल्थे कि
त्यसो त, उनले त्यो बेला बिरानो लाग्ने कुँडहर फाँटमै औद्योगिक क्षेत्रको शिलान्यास र उद्घाटन पनि गरेकै थिए । औद्योगिक क्षेत्रले बस्ती विकास पनि गराउँछ भन्ने उनीजस्तो धुरन्धर विद्धानले पक्कै सोचे–सम्झे होलान् ! घर–घर पुगेर जग्गा मागेर अधिग्रहण गरिएको सो जग्गामा एयरपोर्ट बन्न भने वर्षौं लाग्यो ।
कहिले नेपाल सरकार स्वयंले,कहिले बुट ९निर्माण, सञ्चालन र हन्तान्तरण० को माध्यमबाट बनाउने भनिए पनि विमानस्थल बनेन । पोखरेलीले एयरपोर्टको माग गर्दै आन्दोलन नै छेडे । विमानस्थल निर्माणमा चीन सरकारले चासो देखायो । त्यहीँको एक्जिम बैंकको २२ अर्ब ऋण सहयोगमा विमानस्थलको शिलान्यास भयो । चिनियाँ कम्पनी सिएएमसीले सन् २०२१ को जुलाइ १० मा विमानस्थल नेपाली पक्षलाई हन्तान्तरण गर्ने घोषणा गर्यो । भनेजस्तै भएको भए गएको असार २६ गते यहाँबाट अन्तर्राष्ट्रिय उडान भइसक्थ्यो तर कोभिडका कारण एक वर्ष समयावधि थप भयो ।
‘व्यक्तिको स्वामित्वमा रहेको डाँडा कटान सुरु गरिए पनि सरकारी जग्गा कटानको लागि वातावरणीय मूल्याङ्कनको काम ढिला भएको छ’, बुधबार विमानस्थलको अवलोकन गर्न गएका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसामु परियोजनाका निर्देशक विनेशराज मुनकर्मीले भने, ‘मन्त्रिपरिषद्लाई छिटो ईआईए गर्नको लागि अनुरोध गरिएको र मन्त्रिपरिषद्ले ईआईए गर्न स्वीकृत गरेकोमा पुरक ईआईए गर्न थप समय लाग्ने भएकालेले त्यसका सर्तहरु नै मन्त्रिपरिषद्ले हटाउनुपर्ने देखिन्छ ।’
यता, पोखरा १४ मै रहेको ल्याण्डफिल साइट अन्यत्र नसारिए नयाँ विमानस्थलबाट जहाज उडाउन मिल्दैन । चिल र गिद्ध विमानमा ठोक्किने सम्भावनालाई मध्यनजर गर्दै हवाइ उड्ड्यन कार्यालयले पोखरा महानगरलाई ल्याण्डफिल साइट हटाउन ताकेता गरेपनि महानगर तातेको छैन । अहिले पनि पोखरा–१४, बाच्छेबुडुवामा फोहर फाल्न रोकिएको छैन । महानगरले वैकल्पिक ल्याण्डफिल साइट निर्माण थालेकै छैन ।
पोखरा महानगरपालिकाको सरसफाई शाखाका सम्बन्धित कर्मचारी तथा हवाइ उड्डयन एसिया प्यासेफिक बन्यजन्तु तथा चरा नियन्त्रण कार्यक्रमका अध्यक्ष तथा नेपाल नागरिक उड्ड्यन प्राधिकरणका निर्देशकसहितको टोलीबाट पोखरा महानगर ३३ स्थित रंगेडाँडा र सो भन्दा दक्षिण क्षेत्रमा स्थलगत निरीक्षण एवंम् अवलोकन गरी ल्याण्डफिल्ड साइटको लागि उपयुक्त रहेको भन्दै पोखरा महागनरलाई सिफारिस गरिए पनि काम नभएको प्राधिकरणका कन्सल्टेण्ट इञ्जिनियर भुपेन्द्र गौचनले बताए ।
विमानस्थल निर्माणले गति लिइरहँदा यहाँ अर्को समस्या देखिएको छ । चिनियाँ सरकारको सहयोगमा निर्मित सेती नहरको पानी सोझै विमानस्थल क्षेत्रमा पस्दा बर्खामा दैनिकजसो समस्या निम्तने गरेको छ । पहिला विमानस्थलभन्दा माथिको कुँडहर फाँटमा बस्ती थिएन । खेतमा लगाइएको पानी छिरल्लिएर तलतिर बग्थ्यो । अहिले अवस्था त्यस्तो छैन । नहरको पानी कसैलाई चाहिएकै छैन । पानी खेतमा जाँदैन,सोझै नहरबाट सेतीमा झर्छ ।
‘विमानस्थलको उत्तरतर्फको करिब ५ सय हेक्टर जग्गा र नहरको पानी विमानस्थल क्षेत्रमा बाढी बनेर आउँदा बनेका नहर र संरचना भत्केका छन्, जग्गा पनि सेतीमा खस्दै गएको छ’,परियोजना प्रमुख मुनाकर्मीले भने,‘बर्खाको पानीको निकास नहुनु, पृथ्वी राजमार्गको ढलको व्यवस्थापन नगरिनुले समस्या भएको छ, अब बर्खे पानी व्यवस्थापनको लागि संघीय सरकारले नै सिंचाइ कार्यालयलाई निर्देशन दिनुपर्छ ।’
सबैको कुृरा सुनिसकेपछि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विमानस्थल निर्माणमा देखिएका समस्या सल्टाउन संंघीय सरकारसँग कुरा गरिने प्रतिवद्दता व्यक्त गरे । उनले विमानस्थलको निर्माणमा देखिएको अवरोध हटाउन प्रदेश सरकारले सक्दो प्रयत्न गर्ने पनि बताए ।
विमानस्थल अहिले ३८ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थलको रनवे,ट्याक्सी वे, एप्रोन,पार्किङ र ह्याङ्गर एप्रोन,बत्ती जडान भइसकेको छ भने भित्री बाटोको काम पनि ७० प्रतिशत सकिएको छ । विमानस्थलको टर्मिनल भवन तयार छ । सबै भवनहरुको सजावट पनि भइरहेको विमानस्थलले जनाएको छ । ढोरपाटन दैनिक बाट