“कांग्रेस सभापतिमा अब म विजयी हुन्छु”: शेखर कोइराला

होमल्याण्ड खबर

२०७८ मंसिर २८ गते, मंगलवार १४:०६ मा प्रकाशित

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको मतदानमा आफू विजयी हुने बताएका छन् ।  हात्तिसारस्थित होटल अरण्यमा आकस्मिक पत्रकार सम्मेलन गर्दै डा.कोइरालाले यस्तो बताएका हुन् ।

नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने उनको भनाइ छ । “मन्तरआत्माले के भन्छ त्यो कुरा भोटमा प्रतिबिम्बित गर्नुस् ।कांग्रेस सुधार गर्ने प्रयत्न गरिरहेको छु । त्यसलाई व्यवस्थित बनाउनेछु । आजसम्म रुपान्तरण र पुनर्जागरण गरेर आइरहेको छु । त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रयास गरिरहेको छु । हामी मिलेर काम गर्छौँ भन्ने कुरा राख्न चाहन्छु ।”, डा. कोइरालाले भने ।

पहिलो चरणमा कांग्रेस सभापतिमा कसैको पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि आजै दिउँसो ३ः३० देखि दोस्रो चरणको मतदान हुँदैछ ।  दोस्रो चरणको मतदानमा सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यसअघिका समापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिले अब सभापतिमा देउवालाई सघाउने निर्णय गरेका छन् ।