९ मंसिर २०८१, आईतवार
नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको नेपालकै पहिलो भूमिगत विद्युत् प्रसारणलाइनको निर्माणको आधा काम पूरा भएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनुपर्नेमा त्यसको आधा ६३० मिटरको काम सकिएको हो । भूमिगत रूपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको प्राधिकरणले जनाएको छ ।
भूमिगत प्रसारण लाइन निरीक्षणका लागि गएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई महिनाभित्र प्रसारणलाइन निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका थिए । ऊर्जासचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित आइतबार आयोजनाको स्थलगत निरीक्षण गर्न पुगेका मन्त्री पुनले भूमिगत लाइनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।
ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको थियो । ठेकेदारले समस्या सुनाएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए । “स्थानीयलाई मिलाउँछौं, गृहमन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौं, रुख कटानमा रहेको समस्या समाधान गछौं,” मन्त्री पुनले भने, “सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नुपर्छ ।”
मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्ने ६८२ वटा रुख काट्न स्वीकृति दिएको थियो । तर, अहिले प्रसारण लाइनको रुट केही परिवर्तन हुँदा काट्नुपर्ने रुखको संख्या घटेर ३३६ पुगेको छ । रुख कटान स्वीकृतिका लागि फाइल वन विभागका पुगेको छ । रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुनः पेश गर्नुपरेको आयोजनाले जनाएको छ । काट्नु पर्ने रुखमा टाँचा लगाइसकिएको छ ।
भूमिगत लाइनका लागि सडक खनिएकाले वर्षाको हिलो भएको भन्दै स्थानीयले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोही अनुसार गर्न निर्देशन दिएका छन् ।
प्रसारणलाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली ‘ए’ को विद्युत् काठमाडौं ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशूली ‘ए’ को निर्माण आगामी पुसभित्र सक्ने लक्ष्य राखिएको र सो अवधिभित्र प्रसारणलाइन बन्न नसकेमा विद्युत् प्रसारणमा समस्या आउने देखिएको छ । ४५ किलोमिटर प्रसारण लाइनको १४० वटा टावरमध्ये १२७ को जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए । यो प्रसारणलाइन आगामी दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत् काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारणलाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा बनिरहेको हो