८ मंसिर २०८१, शनिबार
निमार्ण व्यवसाय क्षेत्रमा लामा कन्ट्रक्शन कम्पनी र जिपछिरिङ लामा दुवै पर्यावाची हुन् । वि.स. २०१२ सालमा दोलखाको जिरी नगरपालिकाको स्यामा गाउँमा जन्मिएका लामा निर्माण क्षेत्रमा कहलिएका नाम हुन् । विकट मानिने दोलखाको स्यामाको लेकमा चौरी र भेडा चराउँदै उनको बाल्यकाल बित्यो । पाँच दाजुभाइ र एक दिदी मध्येका काइँला सन्तान उनी सानैदेखि मिहेनती र जिज्ञासु स्वभावका थिए । जिपछिरिङ लामा व्यवसायी,नेपाली कांग्रेसका नेता मात्र नभएर प्रतिनिधि सभाका बहालवाला सांसद समेत हुन् । उनैसंग होमल्याण्ड मासिक पत्रिकाको लागि पुजा बगालेले गरेको संक्षिप्त कुराकानी ।।
आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
सर्वप्रथम तपाई र तपाईका मिडियालाई धन्यवाद भन्न चाहन्छु । व्यवासायसंगै नेपाली कांग्रेसको १४ औं महाधिवेशन भर्खरै सकिएको छ । म पार्टीको केन्द्रीय सदस्यमा विजय भएको छु ।
कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुसंग भेटघाटमा व्यस्त छु । अहिलेको सन्दर्भमा व्यवसायभन्दा पनि पार्टी राजनीतिमा व्यस्त छु ।
निर्माण क्षेत्रमा प्रवेश कसरी गर्नुभयो ?
यतातिरको मेरो यात्रा धेरै कठिन छ नै । कतिबेला जिन्दगीको यात्रा कतातिर मोडिन्छ भन्ने थाहा नहुँदो रहेछ । पढ्ने रहर हुँदाहुँदैँ पनि म १० वर्षको हुँदा मेरो बुवा वित्नुभयो । त्यसपछि पाँच कक्षा पढ्दापढ्दै मैले पढाईलाई पुर्णविराम लगाए । स्यामाका लेकहरु चौरीगाई र बाख्रा वस्तु चराउँदै वित्यो । सामान्यतः न्युन आयस्तर भएकै कारण धेरै ठाउँमा रोजगारी खोज्दै भौतारिए पनि । विकल्पमा म रोजगारीका लागि विदेश गए । घर छाडेर विदेशिनु पर्ने नेपालीको अहिले पनि परम्परा नै बसिसकेको छ । काम खोज्ने शिलशिलमा २८ सालमा नै परदेशिएको हुँ । भारतमा कठिन श्रम बेचेको छु मैले त्यसपछि त्यतै बसेको भएपनि म आफ्नो कर्ममा दृढ विश्वास गर्ने मान्छे भएका कारण सफल त हुनेनै थिए होला । तर, घरमा आमा एक्लैको विलौना सुन्न नसकेपछि म पुनः नेपाल फर्किएको हुँ । त्यसबेला मेरो सहोदर दाजु जाम्बा लामाले अहिलेको हाम्रो कम्पनी ‘लामा कन्ट्रक्सन’ खडा गरेर सामन्य ठेक्कापट्टाका कामहरु गरिरहनुभएको रहेछ । त्यसपछि म आफुपनि दाईसंगसंगै यतै लागेको हुँ । २०३३ सालपछि हामीदाजुभाईमिलेर कम्पनीलाई ‘क’ श्रेणीमा दर्ता गरेर यसैको दौडधुपमा लाग्यौं ।
त्यतिखेर कल्पना गर्नुभएको थियो ? लामा कन्ट्रक्शन यसरी नामी कम्पनीको रुपमा स्थापना हुन्छ भनेर ।
त्यो धेरैपरको कुरा थियो । हामी दाजुभाई मिलेर काम गर्दै गयौं । त्यसपछि अलिअलि हुँदै पैसा पनि कमाउन थाले । गोरखा, नारायणगढ सडक, पोखरा जलविद्युतमा काम त्यसैबेला गर्ने मौका मिल्यो । पैसाले साहस मिल्दै गयो । सामाजिक र राजनीतिक भावनाको विकास पनि बढ्दै गयो । मुलुकको ठुलाठुला विकास निर्माणको काममा हाम्रो कम्पनीलाई विश्वासका साथ काम मिल्दै गयो । अहिले यसको दायर विशाल बनेको छ । म आफुपनि राजनीति र सामाजिक काम दुवैतिर सक्रिय छु । दुःखले स्थापना गरेको कम्पनी आज यो अवस्थामा हुँदा खुसी लाग्छ । तर, यसको जन्मदाता मेरो दाजु हो । उहाँ वितिसक्नुभयो ।
निर्माण संगसंगै सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुँदो रहेछ नि ?
हो, निर्माण व्यवसाय संगसंगै मेरो सक्रियता राजनीति र सामाजिक काममा पनि उतिकै छ । मेरो आफ्नो निजि खर्चमा गृहजिल्ला दोलखाका स्थानीय तहहरुलाई १२ वटा एम्बुलेन्स र जिरी नगरपालिका र भिमेश्वर नगरपालिकालाई दुई वटा शववाहन समेत दिएको छु । ०७२ सालको विनाशकारी भुकम्पमा मृत्यु भएका १७४ जनाको परिवारलाई १५ हजारका दरले आर्थिक सहयोग गरेको छु । घाइतेहरुको निजि खर्चमै हेलिकोप्टर मार्फत उद्धार, उपचार र राहत वितरणमा समेत सहयोग गरेको छु । भुकम्पले भत्काएका विभिन्न विद्यालय, मठमन्दिर गुम्वा निर्माणका लागि समेत रकम सहयोग गरेको छु । व्यवसाय मात्र गरेको भए म खर्वपति भइसक्थ्ये । मेरो बुँताले भ्याएसम्म दिनदुःखी र जनताको सेवामा सधै उनीहरुसंगै रमाउन चाहन्छु । त्यतिकै म सांसद भएको कहाँ होर ।
तपाईको अवको लक्ष्य चाहिँ के छ ?
निर्माण क्षेत्र र राजनीतिमा नै जीवनको एक हिस्सा खर्चिसकेको छु । यो जमनामा पनि हिड्नको लागि राम्रो बाटो, खोला तर्नका लागि झालुङ्गेपुल, बालबालिकालाई पढ्न स्कुलको अभाव नहोस् भन्ने लाग्छ । बाल्यकालमा मैले स्कुल पढ्दा भोगेका ति पिडाहरु सम्झेर विकटविकट ठाँउ नै केन्द्रीत गरेर विभिन्न योजनाहरु आफ्नो व्यक्तिगत र सरकारी योजनाहरु भित्र्याउन अहोरात्र खट्ने गरेको छु । सामाजिक काममा मेरो बुबाआमा पनि सक्रिय हुनुहुँन्थ्यो । कोहि भोको बसेको देख्नसक्नुहुन्न थ्यो । उहाँहरुकै प्रेरणाबाट म सामाजिक र राजनीति दुवैमा सक्रिय छु ।