८ मंसिर २०८१, शनिबार
नयाँ प्रविधिहरूको विकास र विस्तारले दुनियाँलाई तीव्रगतिमा बदलिरहेको छ । मानिसहरूले ज्ञानगुनका किताबहरूलाई सुरक्षित राख्न सामुदायिक र निजी पुस्तकालयसम्म निर्माण गरे । आवश्यक परेका बेला प्रणालीगत रूपमा राखिएका पुस्तकहरूलाई आवश्यक परेका बेला खोजेर अध्ययन गर्ने गरिन्थ्यो । अझ पनि यो दुनियाँबाट हराइसकेको भने छैन । तर यो हराउने क्रममा छ ।
ठूला ठूला पुस्तकहरू संरक्षण गर्न अब ठूला ठूला भवनहरूको निर्माण गर्न आवश्यकता भने हराउँदै गएको छ । यो बढीमा एउटा बूढी आंैलाका नङजस्तो चिपमा संग्रह गर्न सकिने भएको छ । कागजात र दस्तावेजहरूको संरक्षण यस्तै चिपहरू र माइक्रोचिपहरू गर्न थालिएको छ । यसका लागि तत्सम्बन्धी उपकरण वा डिभाइसहरूको आवश्यकता हुन्छ । यस्ता सुविधाहरू हाल स्मार्टफोनजस्ता डिभाइसमा समेत उपलब्ध भईआएका छन् ।
हुनत मेसिनले धेरै काम धेरै अघिदेखि नै गर्न लागेको थियो तर प्रविधि क्षेत्रमा विकसित गरिएको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोगबाट मानिसले गर्ने कामहरू र व्यवहारहरूलाई हराउन थालेको छ । कतिपय सन्दर्भमा यो विकसित देशमा मात्रै सम्भव रहेको भए पनि द्रुतगतिको विकास र विस्तारका साथै अर्थतन्त्रमा यसको प्रयोगले यो दुनियाँभर फैलिन अब धेरै समय मानव समाजका लागि नलाग्ने अनुमान गरिएकै छ ।
मानिसलाई एकठाउँबाट अर्को ठाउँमा सहजरूपले यात्रा गराउने, उसका सामानहरू ओसारपसार गर्ने थल, जल र वायुयानहरूको विकास र विस्तार भयो । यस्ता यानहरूको सञ्चालन गर्न मानिसहरूलाई तालिम दिइयो । जोखिम भएपनि मानिसहरूले स्थल मार्गमा बस, ट्रक, कार, रेल गुडाए । जलमा पानी जहाज र क्रुजहरू चलाए र आकाशमा वायुयानहरू उडाए ।
यस्तो कामका लागि मानिसलाई तालिम दिइयो । चलाउन पाउने इजाजपत्र (लाइसेन्स) वितरण गरियो । लाइसेन्स नलिएकाहरूलाई यस्ता वाहनहरू चलाउन नपाउने कानुन निर्माण गरियो । कार, बस चलाउन मानिसलाई लाइसेन्स लिनुपर्ने भयो । त्यसको सुरक्षाका लागि नियम कानुनहरू बनाइए । तर, अब एआई प्रविधिको विकासले यस्ता कानुनहरूको विस्थापन गर्ने देखिएको छ ।
हालैमात्र अमेरिकी संसद सिनेटको एक समितिले त्यहाँ चालक विहीन स्वचालित कार गुडाउन पाउने विधेयकलाई पारित गराउन अनुमोदन गरेको छ । छिट्टै विकसित देशरूले स्वचालित चालक विहीन गाडी गुडाउन पाउने कानुनको निर्माण गर्नेछन् । कानुन निर्माण गरिएपछि त्यस्ता गाडीहरूको बजार विस्तार हुनेछ । पर्यटकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन मानिसले गुडाएको गाडी हराउन थाल्नेछ । एआईजस्ता प्रविधियुक्त कार बसले पर्यटकहरूलाई सुरक्षित यात्राको सेवा उपलब्ध गराउने छ । अनि यससम्बन्धी कानुनहरू पनि फेरिनेछन् ।
विज्ञहरूले यस्ता ड्राइभरलेस वाहनबाट गरिने यात्रा बढी सुरक्षित हुनेछ । चालकहरूको ज्यानको जोखिम मात्रै होइन, यात्रुहरूको जीवन पनि सुरक्षित हुने उनीहरूको दाबी छ । यो दाबीका आधारमा उनीहरूले भन्न थालेका छन् । आगामी २५ वर्षमा चालकविहीन वाहनको विस्तारले मानवीय नियन्त्रणबाट गुड्ने बाहन हराउनेछ । अनि मानिसहरूलाई गाडी गुडाउने पाउने लाइसेन्स पनि हट्नेछ । विज्ञको तर्क छ, “त्यतिखेर मानिसहरूलाई गाडी गुडाउन लाइसेन्स दिन प्रतिबन्ध लाग्नेछ ।” यसको जिम्मा एआईले लिनेछ ।
बेलायती विज्ञ ओमार रहिम भन्छन्, “मानिसहरूलाई गाडी चलाउनबाट रोक्नु अनिवार्य भइरहेको छ । यसबाट हजारौंको ज्यान जोगाउन सकिन्छ ।” रहिम इनर्जी माइन टेक्नोलोजी कम्पनीका प्रमुख कार्यकारी हुन् । सवारी दुर्घटनाबाट मानिसहरूको ज्यान गइसकेपछि मानिसहरूका भावना उम्लिन्छ र उर्लिन्छ । त्यतिखेर मानिसहरूले गाडी चलाउन दिन नहुनेमा विश्वास गर्छन् । बार्सिलोनामा आयोजित इन्टरनेटसम्बन्धी वस्तुहरूको सम्मेलन ‘इन्टरनेट अफ थिंग्स कंग्रेस इन बार्सिलोना’मा सहभागी भएकाहरू समक्ष रहिमले यस्तो बताएका हुन् ।
उनले थपे, “आगामी २० वर्षमा कुनै बालकलाई वयस्कहरूले पानी परिरहेका बेला दुई टन धातुलाई सडकमा मानवीय निर्णयको निर्देशनमा हाँक्ने गरेका थिए भन्ने विषयको व्याख्या गरिरहेको अवस्था सम्झिनुस् । यो त्यतिखेर अहिले कुनै बालकलाई सडकको पेटीमा कुनै सार्वजनिक टेलिफोन बुथबाट फोन गर्ने गरेका थिए, बुझाउन खोज्नु जस्तै हुनेछ ।” रहिमले व्यक्त गरेका विश्वास अनुसार ड्राइभरलेस वाहनहरूको प्रयोगबाट सडक दुर्घटना नाटकीय ढंगले घट्नेछ । प्रविधियुक्त वाहनले चालक भन्दा बढी सुरक्षा र भरोसा उपलब्ध गराउनेछ ।
जटिल प्रकृतिका कारण हामीलाई मानव भनिएको हो । हाम्रा भावनाहरूले हाम्रा निर्णयमा प्रभाव पार्ने गर्छन् । त्यसैगरी यस सन्दर्भमा गाडी चलाउने खतरनाक छ । पेट्रोल र डिजेलका वाहनहरू पनि प्रतिबन्धित हुनेछन् । सरकारहरू यस्ता विषयलाई बिर्सेको बताउँदै रहिमले भने, “बेलायत सरकारले यस्ता कानुनहरू बनाउन तर्फ ध्यान दिनुपर्छ ।” यस्तो दाबी गर्ने रहिम एक्ला मात्रै होइनन् ।
सन् २०१५मा एलन मस्कले पनि गाडी चलाउन पाउने अनुमति दिनबाट रोक लगाउन माग गरेका थिए । भविष्यमा गाडीहरूलाई रोबोटले चलाउने बताउँदै यस्ता कार्यहरूबारे सरकारले सोच्न पर्ने बताएका थिए । मस्कले भनेका छन्, “जसरी मानिसलाई अग्ला अग्ला भवनहरूमा एलभेटर वा लिफ्टको सहयोगले तलबाट माथि र माथिबाट तल ल्याउने गरिन्छ त्यसैगरी यो काम ड्राइभरलेस भेइहिकलले गर्छ ।”
सेल्फ ड्राइभिंग कार बनाउने योजनाका अगुवा कम्पनी टेस्ला छ । अब यसमा बीएमडब्लु, भोल्भो र गुगललगायत कम्पनीहरू सक्रिय छन् । यी कम्पनीहरूले बनाउने सेल्फ ड्राइभिङ भेइहिकलले वाहनलाई ठीक ढंगले गुडाउने दाबी गरिरहेका छन् । टेस्लाको मोडल एस एक अटोपाइलट मोडको गाडी छ । यसमा जडान गरिएका संवेदक (सेन्सर)हरूले गति मिलाएर र दुर्घटनाबाट जोगाएर गाडी कुदाउन सहयोग गर्छन् ।
यो महिनाको सुरूमा गुगलको भगिनी संस्था वेमोले केही सातामा सेल्फ ड्राइभिङ कारको व्यापारिक सेवा सुरू गर्न लागेको समाचार सार्वजनिक भएको थियो । बेलायतमा यस्ता वाहनको परीक्षण कार्यक्रम अन्तर्गत फोनिक्सले सेवा सुरू गर्ने जनाइएको थियो । केही यस्ता वाहनहरूमा चालकहरू पनि रहने गरेका छन् । तर वेमोले आफ्नो सेवाका लागि पूरा खाका सार्वजनिक भने गरेको छैन ।
जलमार्गमा पनि यस्तो प्रविधिको प्रयोगले तीव्रता पाइरहेकै छ । फिनल्यान्डको वार्टसिला कम्पनीले गत अगस्ट महिनामा यस्तो कार्यको परीक्षण ग¥यो । वार्टसिलाका एक इन्जिनियरले अमेरिकाको क्यालिफोर्नियामा बसेर स्कटल्यान्ड नजिक एक पानीजहाजको सञ्चालन गरे । यो कार्य गर्न जीपीएसलगायत अन्य नयाँ प्रविधिहरूको प्रयोग गरिएको थियो । त्यो जहाजलाई जलमार्गमा उत्पन्न विभिन्न बाधा र खतराहरूबाट जोगाउँदै गन्तव्यसम्म पु¥याइएको थियो ।
वार्टसिला कम्पनीका अनुसार यस्ता स्मार्ट जहाजको बनाउनुपर्ने हुन्छ जसको बारेमा जहाजका मालिकलाई जहाजको अवस्था, गति र दिशा र गन्तव्यमा पुग्ने समयको बारे जानकारी होस् । यतिखेर त इन्जिनियरले रिमोटबाट जहाज चलाए । अब यस्तो जहाज बनाउने तर्फ ध्यान केन्द्रित भएको छ, जहाँ जहाजमा क्याप्टनको आवश्यकता नै हुने छैन । विश्वको अर्थतन्त्रमा ठूला ठूला जहाजको हिस्सा धेरै ठूलो छ । डिजलबाट जलमार्गमा चल्ने यी जहाजहरू दुनियाँको एक किनारबाट अर्को किनारसम्मको दूरी तय गर्ने गर्छन् ।
डिजेलबाट चल्ने जहाजहरूले प्रदूषण पनि त्यतिकै जम्मा गर्छन् । विश्वभर सडकमा गुड्ने कारहरूले उत्सर्जन गर्ने प्रदुषण बराबरमा विश्वका १५ सबै भन्दा ठूला पानी जहाजले मात्र गर्ने गरेको पाइन्छ । अन्य क्षेत्रमा नयाँ प्रविधिको विस्तार भए पनि गएको दशकमा पानी जहाजको स्तरोन्नतिमा ध्यान दिइएको पाइँदैन । एआईजस्ता नयाँ प्रविधिको विकास र विस्तारबारे यस क्षेत्रमा ध्यान दिन थालिएको देखिन्छ ।
यसतर्फ नर्वेली कम्पनी कान्गसबर्गले स्वचालित जहाजको विषयमा काम अगाडि बढाइसकेको छ । यो कम्पनीले यस्ता दुई पानी जहाजको निर्माण कार्य सुरू गरेको छ । द ह्रान र यारा बिर्कल्यान्ड नाम दिएर कम्पनीले नयाँ पानी जहाज बनाउन थालेको हो । कम्पनीले जनाए अनुसार ८० मिटर लामो मालवाहक जहाज बिर्कल्यान्ड पूर्णरूपमा बिजुलीबाट चल्नेछ । यो सन् २०१८ को अन्त्यतिर समुद्रमा ल्याइनेछ ।
कम्पनीका निर्देशक पीटर ड्युले भने, “यसमा जडान गरिने सेन्सरहरूले समुद्रमा पौडिरहेको बियरको बोतललाई जोगाएर जहाज चलाउने प्रयास गर्नेछ ।” उनका अनुसार सेन्सरहरूले समुद्रका जीवजन्तु वा चट्टानहरूलाई पहिचान गरी जहाज बिना क्याप्टन चलाउन सक्छन् ।तर यसका लागि समस्या भनेको कानुनसम्बन्धी नै हुनेछ । अहिले विश्वमा क्रियाशील कानुनहरूमा स्वचालित पानी जहाजलाई अनुमति दिने प्रावधान समावेश छैन ।
स्वचालित पानी जहाज समुद्रमा ल्याइएपछि यस्ता कानुनहरूमा परिर्वतन गर्नुपर्ने आवश्यकता हुन्छ । एउटै देशभित्रका सीमामा स्वचालित पानी जहाज चलाउन सजिलो हुन सक्छ तर विश्वभरका लागि सारा कानुन फेर्नुपर्ने हुन्छ । यसमा समय लाग्ने देखिन्छ । यसका साथै हलुका पानी जहाज बनाउने विषयमा काम भइरहेका छन् । हलुका बनाउन ग्लास फाइबरको प्रयोग गर्न थालिएको छ । युरोपियन युनियनले यसका लागि फाइबरशिप नाम गरेको प्रोजेक्ट सुरू गरेको छ । मालबाहक जहाजको तल्लो भाग फाइबरबाट बनाउने प्रयास गरिएको छ ।
यसैगरी जापानी कम्पनी इको मरिन पावरले जहाजमा सोलर प्यानलको प्रयोग गरिरहेको छ । यसबाट पानी जहाजमा बिजुलीको उत्पादन आफैं हुन्छ । यसबाट निर्माण लागत कम हुन सक्ने अनुमान छ । यसका साथै यस्ता पानी जहाजमा थ्री–डी प्रिन्टिङ प्रविधि पनि उपलब्ध हुन्छ । यसको सहयोग लिएर पानी जहाजको कुनै पार्टपुर्जा बनाउनु पर्ने भए तत्काल बनाउन सकिनेछ । यसबाट विश्व अर्थतन्त्रको ठूलो हिस्सालाई प्रभावित गर्ने विषयमा विज्ञहरूले ध्यान दिइरहेका छन् । (एजेन्सीको सहयोगमा)