सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गर्न एकीकृत समाजवादीको माग

होमल्याण्ड खबर

२०८१ जेष्ठ ३ गते, बिहीबार ११:३३ मा प्रकाशित

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ । बुधवार सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको समसामयिक प्रस्तावमा एकीकृत समाजवादीले सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो ।

केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको बताए ।

‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारणको बचत रकम अपचलन गरेर ठुलो धनराशि दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेका दुःखद घटनाहरू सार्वजनिक भइरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नता भएको समाचार प्रकाशित भएको छ’, एकीकृत समाजवादीले भनेको छ, ‘यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भनी माग गर्दछ ।’