प्रियंका निर्मित ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक

होमल्याण्ड खबर

२०८३ श्रावण २२ गते, शुक्रबार १०:३६ मा प्रकाशित

आयंका फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘मास्टर्नी’ आगामी भदौ ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्माण युनिटले बिहीबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागी आमाले के गर्न सक्छिन् भन्ने देखाउन खोजेको छ ।

फ्यामेली ड्रमा जनरामा निर्मित चलचित्रको ट्रेलरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दिपकराज गिरी, दिपाश्री निरौला, सन्दिप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा लगायतका  कलाकार देखिएका छन् ।

सुवेन्दु घोषको निर्देशन रहेको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त निर्माण गरेका हुन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार चलचित्रको कार्यकारी निर्माता हुन् । भारतीय प्राविधिक टिमले काम गरेको चलचित्रको पोस्ट प्रोडक्सनको काम नेपाल र भारत दुवै स्थानमा भएको छ ।
रोहित शाक्यको सङ्गीत, त्रिशाला गुरुङको गायन रहेको चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ ।