कांग्रेस १५औँ महाधिवेशन : उद्घाटन सत्रमा यी शीर्ष नेताहरू पुगे खुलामञ्च

होमल्याण्ड खबर

२०८३ आश्विन १८ गते, आईतवार १५:२८ मा प्रकाशित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित केहीबेरअघि उद्घाटन सत्र सुरु भएको हो।

उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू खुलामञ्च पुगेका छन्। नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी र जनता समाजवादी पार्टी नेपालका सहअध्यक्ष शरतसिंह भण्डारीलगायत नेताहरू समारोहमा उपस्थित छन्।

कांग्रेसको महाधिवेशनअन्तर्गत बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार अर्थात् असोज १९ र २० गते हुनेछन्।

नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम भने असोज २१ र २२ गते सञ्चालन गर्ने कार्यतालिका छ। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता शुक्रबार र शनिबार नै सम्पन्न भइसकेको छ।