बारामा प्रहरीको गोली लागेर घाइते भएका किशोरलाई काठमाडौं ल्याइयो

होमल्याण्ड खबर

२०८३ कार्तिक १६ गते, आईतवार १३:३७ मा प्रकाशित

बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर घाइते भएका करिब १६ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

शनिबार अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा पासवान घाइते भएका थिए। उनलाई सुरुमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो।

नेशनल मेडिकल कलेजले थप उपचारका लागि रिफर गरेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए।

नेशनल मेडिकल कलेजका पेडियाट्रिक सर्जन डा. विनोद कुमार रायसहितको चिकित्सकीय टोलीले शल्यक्रिया गरी उनको तिघ्राबाट गोली निकालेको थियो। काठमाडौं ल्याइएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

संघीय सरकारको अनुदानमा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने क्रममा भएको झडपमा पासवान घाइते भएका थिए।

घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।