२० कार्तिक २०८३, बिहीबार
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले तिहारको अवसरमा खेलिने देउसी भैलिको लागि समय राति ९ बजेसम्म निर्धारण गरेको छ ।
देउसी तथा भैलोलगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राति ९ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ, जिल्ला प्रशासन कार्यालयको बिज्ञाप्तिमा उल्लेख छ ।


प्रशासनले पटका तथा विष्फोटक पदार्थमा रोक लगाएको उल्लेख गर्दै यसप्रति सचेत हुन आग्रह गरेको छ । प्रशासनले तिहार र छठ पर्वमा पटका, भुइँचम्पा, आतिसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थहरूको भण्डारण, बिक्रीवितरण, ओसारपसार तथा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरेको छ।
नेपाल संवत् ११४७ र छठ पर्वलाई मध्यनजर गर्दै शान्ति सुरक्षा र अमनचयन कायम राख्न विभिन्न निर्देशन जारी गरेको छ। चाडपर्वको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधिहरूलाई रोक्न प्रशासनले कडाइ गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई मर्यादित रूपमा मनाउन नियमहरूको पूर्ण पालना गर्न जिल्लावासीलाई आग्रह गरिएको छ।
सट्टेबाजी, जुवा, तास, लङ्गुर बुर्जा खेल्न–खेलाउने तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला वा झैझगडा गर्नेजस्ता क्रियाकलापहरू नगर्न कडाइ गरेको छ। प्रशासनले प्लाष्टिकका फूलगुच्छा आयातमा रोक लगाएको छ ।
नेपाल सरकार राजपत्रको २०७९ साउन ११ को सूचनाअनुसार नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रोक लगाइएको प्रजिअ वसन्त अधिकारीले बताउनुभयो।
प्रशानले मूल्य वृद्धि र कालोबजारी नियन्त्रण गर्न प्रशासनको निगरानी बढाएको बताएको छ। “बजारमा अखाद्य एवं म्याद गुज्रेका वस्तुहरूको बिक्रीवितरण, मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना गर्ने उपभोक्ता हितविपरीतका गतिविधिहरू गर्न पाइने छैन” बिज्ञप्तिमा भनिएको छ।
चाडपर्व यातायातमा सहजताको लागि खबरदारी गरेको छ। सवारी साधनहरूमा क्षमताभन्दा बढी यात्रु नराख्न, तोकिएकोभन्दा बढी भाडा नलिन र जोखिमपूर्ण यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ । प्रशासनले जारी गरेको निर्देशन विपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ।
शान्ति सुव्यवस्थामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि देखेमा नजिकैको प्रहरी इकाई वा प्रहरी कन्ट्रोल रूमको हटलाइन नम्बर १०० मा तत्काल खबर गर्न आग्रह गरिएको छ ।