४ मंसिर २०८३, बिहीबार
बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन्।
मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णयलाई नै सदर गरेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ। हालको कानुनी प्रक्रियाअनुसार मन्त्रिपरिषद्मा पुनरावेदन नगरी उनी सोझै अदालत जान नमिल्ने भएकाले निवेदन दिएको स्रोतको भनाइ छ।


सरकारले संवेदनशील तथा गम्भीर सूचना चुहाएको आरोपमा गत असोज २३ गते दाहाललाई पदबाट बर्खास्त गरेको थियो। बिचौलियाको आरोप लागेका इनम सापकोटासँग दाहालको सम्बन्ध देखिएको र प्रधानमन्त्रीसँग सम्बन्धित सूचना चुहाएको आरोप उनीमाथि थियो।
इनम पक्राउ परेपछि उनको मोबाइल फोनबाट एआईजी दाहालसँगको सम्बन्ध खुलेको थियो। सोही विषयलाई आधार बनाउँदै सरकारले असोज १९ गते दाहाललाई निलम्बन गरी छानबिन अघि बढाएको थियो। छानबिनको जिम्मेवारी एआईजी अञ्जनीकुमार पोखरेललाई दिइएको थियो।
छानबिनपछि प्रहरीले पालना गर्नुपर्ने पदीय आचरणविपरीत काम गरेको निष्कर्षसहित सरकारले असोज २३ गते उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।