४ मंसिर २०८३, बिहीबार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी अलराउन्डर सोमपाल कामीले कतारमा आयोजना हुने ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ प्रतियोगिता गुमाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै चोटका कारण कामी प्रतियोगितामा सहभागी हुन नसक्ने जनाएको हो ।


सोमपाल ‘एसबीएल एनपीएल–३’को अन्तिम खेलका क्रममा घाइते भएका थिए ।
एसिया कप राइजिङ स्टार्स नोभेम्बर १९ देखि २९ सम्म कतारमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । क्यानले केही दिनअघि लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।
सोमपाल बाहिरिएपछि उनको स्थानमा तीव्र गतिका बलर प्रतिश जिसीलाई टोलीमा समावेश गरिएको क्यानले जनाएको छ ।
यसैगरी, यसअघि ‘ट्राभलिङ रिजर्भ’ (वैकल्पिक खेलाडी)का रूपमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।