ताइवानलाई चीनको हिस्सा स्वीकार गरिन् जापानी प्रधानमन्त्री ताकाइचीले

होमल्याण्ड खबर

२०८३ मंसिर ४ गते, बिहीबार १५:०५ मा प्रकाशित

जापानकी प्रधानमन्त्री साने ताकाइचीले ताइवान चीनको हिस्सा भएको तथ्य स्वीकार गरेकी छन् । उनले ताइवानसम्बन्धी सन् १९७२ यता जापानको नीतिमा कुनै परिवर्तन नभएको समेत बताएकी छन् ।

ताइवानसम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर चीन र जापानबीचको सम्बन्ध तनावपूर्ण बनेको अवस्थामा ताकाइचीले चीनको दक्षिणी सहर सेन्जेनमा बिहीबार आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा आफ्नो अभिव्यक्ति सच्याउँदै यस्तो बताएकी हुन् ।

सन् २०२५ नोभेम्बरमा ताकाइचीले चीनले प्रजातान्त्रिक शासन व्यवस्था रहेको ताइवानमाथि आक्रमण गरेमा त्यसले जापानलाई सैन्य प्रतिक्रिया दिनुपर्ने अवस्था सिर्जना गर्न सक्ने बताएकी थिइन् ।

तर सेन्जेनमा उनले सन् १९७२ मा जारी जापान-चीन संयुक्त विज्ञप्तिमा उल्लेखित ताइवानसम्बन्धी जापानको धारणा अहिले पनि यथावत् रहेको स्पष्ट पारिन् । उक्त विज्ञप्तिमार्फत जापान र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

सन् १९७२ को संयुक्त विज्ञप्तिमा जापानले ताइवान चीनको हिस्सा भएको बेइजिङको धारणालाई पूर्ण रूपमा बुझ्ने र सम्मान गर्ने उल्लेख गरेको छ ।

‘यस धारणामा कुनै पनि परिवर्तन भएको छैन’, ताकाइचीले पत्रकार सम्मेलनमा भनिन् ।

ताकाइचीको गत वर्षको अभिव्यक्तिलाई चीनले आपत्तिजनक भन्दै फिर्ता लिन माग गरेको थियो । त्यसबेला चीनले उक्त अभिव्यक्ति फिर्ता नलिए जापानले त्यसको सम्पूर्ण परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको थियो ।

यसैबीच चीनले जापानमा निर्यात हुने केही महत्त्वपूर्ण खनिज पदार्थमा प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ । जापानबाट समुद्री खाद्य पदार्थ आयातमा रोक लगाउनुका साथै आफ्ना नागरिकलाई जापान भ्रमण नगर्नसमेत आग्रह गरेको छ ।

यसअघि जापानी नेताहरूले यस्ता सम्भावित परिस्थितिबारे सार्वजनिक रूपमा धारणा राख्दा ताइवानको विषय उल्लेख गर्नबाट जोगिँदै आएका थिए । उनीहरूले यस विषयमा रणनीतिक अस्पष्टता कायम राख्ने नीति अपनाउँदै आएका थिए ।

एपेक शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्य नेताहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गरे पनि ताकाइचीले भने त्यस्तो भेट गरेकी छैनन् ।

यद्यपि सीसँगको संक्षिप्त भेटका क्रममा उनले निमन्त्रणाका लागि धन्यवाद व्यक्त गरेको बताइन् । उनले चीन जापानको महत्त्वपूर्ण छिमेकी भएकाले दुवै देशबीच संवाद र सम्पर्क कायम रहनुपर्ने आफ्नो धारणा रहेको स्पष्ट पारिन् ।

–एजेन्सी