८ मंसिर २०८१, शनिबार
सिँचाइ सुविधाका लागि निर्माणको क्रममा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट जलविद्युत् पनि उत्पादन गरिने भएको छ । सिँचाइका साथै जलविद्युत् उत्पादनको सम्भावना देखिएपछि सरकारले काम अगाडि बढाएको हो । विद्युत् समेत उत्पादन हुने भएपछि अब यो राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना भएको छ ।
करिब एक सय वर्ष पुराना परम्परागत कुलरिया, जमरा र रानीसमेत गरी तीनवटा कुलोलाई व्यवस्थित नहरका रूपमा ३८ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्यका यो आयोजना निर्माण अघि बढाइएको थियो । आयोजनामा थोरै लागतमा जलविद्युत् उत्पादन हुने सम्भावना देखिएपछि प्रक्रिया सुरु गरिएको सिँचाइ मन्त्रालयले जनाएको छ । कर्णाली नदीबाट पानी ल्याएर निर्माण गर्न थालिएको सिँचाइ आयोजनाबाट ४।७ मेगावाट जलविद्युत् उत्पादन हुने भएको छ ।
सरकार र विश्व बैङ्कको ऋण सहयोगमा निर्माण भइरहेको यो आयोजनाको मूल नहरमै जलविद्युत् गृहको निर्माणको काम भइरहेको आयोजनाका प्रमुख शुशीलचन्द्र आचार्यले जानकारी दिनुभयो । मूल नहर क्षेत्रमा हेडवक्र्स भेटिएकाले जमिनमुनि विद्युत्गृह निर्माण गरी सिँचाइ आयोजनालाई असर नपर्ने गरी जलविद्युत् उत्पादन थालिएको हो ।
आयोजना प्रमुख आचार्यले भन्नुभयो, सिँचाइका संरचना निर्माणको काम सँगसँगै जलविद्युत् उत्पादनका संरचना निर्माण गर्न ठेक्कापट्टा दिने काम भइसकेको छ । विद्युत् उत्पादनगृह निर्माणका लागि जमिन खन्ने काम भइरहेको छ । सिँचाइ सुविधासँगै जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।
सिँचाइसहित जलविद्युत् उत्पादन गरेका भारतका विभिन्न आयोजनाको अध्ययन भ्रमण गरेर सरकारी प्राविधिक टोलीले आयोजना सहजका साथ निर्माण गर्न सकिने निष्कर्ष निकालेको छ । आयोजना प्रमुख आचार्यले भन्नुभयो, भारतमा यस्ता धेरै आयोजना देखेपछि यहाँ पनि गर्न सकिने साहस र दृढता बढेर आएको छ । त्यसैले हामीले विद्युत्गृहका यन्त्र उपकरणका लागि खरिद आदेश पनि दिइसकेको छौँ । चाँडै आवश्यक उपकरण र टर्बाइनका सामान नेपाल आइपुग्छन् ।
आयोजनाको पहिलो चरणमा सरकारले आफ्नो लगानीमा कर्णाली नदीको चिसापानीमा इन्टेक तथा लिन्क क्यानल निर्माण तथा अन्य संरचना निर्माण र तल्लो क्षेत्रमा कल्भर्ट, पुल निर्माण तथा नदी नियन्त्रणका कार्य सम्पन्न भइसकेका छन् । विश्व बैङ्कको दस वर्ष निब्र्याजी ऋण तीन अर्ब ७० करोड, नेपाल सरकारको ५० करोड र स्थानीय तहबाट १० करोड रुपियाँ बराबरको साझेदारीमा पहिलो चरणको कार्य भएको बताइएको छ ।
आयोजनाका अनुसार पथरैया नदीदेखि कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले चालू आर्थिक वर्ष भित्र विस्तृत सर्भेक्षण तथा अध्ययनका कार्य सम्पन्न गर्न परामर्शदातालाई छनोट गरिसकिएको छ । विस्तारित काम सञ्चालन गर्न लाग्ने लागतका लागि निकट भविष्यमै विश्व बैङ्कसँग ऋण सम्झौता गर्न अर्थ मन्त्रालयले तयारी गरिरहेको छ ।