८ मंसिर २०८१, शनिबार
बाँझो खेतमा राप्ती नदीको पानीले सिँचाइ होला र खेतीबाली राम्रो होला भन्ने आशामा बसेका स्थानिय वासिन्दाहरु अहिले निराश भएका छन् । खनिएको कुलोमा पानी नबग्दा कुलो पुरिएको छ । इन्टेकहरूमा माटो भरिएको छ । एक दशकअघिबाट नारायणपुर सिँचाइ प्रणालीको भौतिक निर्माण सुरु भए पनि त्यसले पूर्णता नपाउँदा करोडौँ लगानी खेर गएको छ ।
सरकारको उदासिनताका कारण यो कुलोमा पानी बग्ने आशा मरेको स्थानीय वासिन्दा गुनासो गर्छन् । अब पानी कसरी बग्ला अनि हामीले सिँचाइ गरौँला र खेतीपाती रोपौँला । नारायणपुर सिँचाइ प्रणाली सुचारु गर्न किसानले समेत लगानी लगाएका थिए । प्रतिकट्ठा तीन सय रुपियाँका दरले रकम उठाएका थिए । पाँच सय बिघा जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखीएको थियो । प्रगन्ना कुलो सिँचाइ आयोजनासँंगै पूर्व पश्चिम राजमार्गदेखि उत्तरतर्फको जमिन सिँचाइ गर्न नारायणपुर सिँचाइ प्रणाली सुरु भएको एक दशक बितिसकेको छ तर किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन् । पूर्वमा नर्ति सिङ्गेबाट यो आयोजना सुरु भएको हो । पश्चिममा नारायणपुरसम्म सिँचाइ सुविधा पु¥याउने लक्ष्य भए पनि किसानले सुविधा उपभोग गर्न सकिरहेका छैनन् । आर्थिक अवस्था कमजोर भएका किसानले सकी नसकी लगानी लगाए तर अहिलेसम्म कुलोमा पानी बग्न नसक्दा प्रगन्ना कुलो सिँचाइ आयोजनाको नेतृत्व गर्ने तत्कालीन अगुवाहरूको लापरबाहीले यस्तो अवस्था आएको स्थानीय किसानको भनाइ छ । अहिले पनि नारायणपुर प्रणालीको नेतृत्वकर्ताहरू सक्रिय नहुँदा सुनुवाइमा ढिलाइ भएको बुझाई किसानहरूको छ । जिल्ला सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका प्रमुख केदार श्रेष्ठका अनुसार योजना स्वीकृतका लागि विभागमा पहल भइरहेको छ । अहिले तीन करोड ५४ लाख रुपियाँ बजेट विनियोजन भएको छ ।