३ मंसिर २०८१, सोमबार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । नेपाली कांग्रेसको तर्फबाट निवार्चित संघीय सांसद ज्ञानकुमारी छन्त्यालको असामयिक निधनका कारण संसदमा शोक प्रस्ताव पारित हुने भएपछि बुधबार स्थगित गरिएको नेकपाको बैठक छैटौं दिन बिहीबार बिहान ११ बजे बोलाइएको छ । बुधबार पाँच जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेपछि स्थगित गरिए पनि बिहीबार बोलाइएको बैठक भने निर्णायक हुने आँकलन गरिएको छ ।
स्थायी कमिटीको मंगलबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमसहितका १७ नेताले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिमाथि प्रश्न उठाउँदै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने सन्दर्भ उठाएपछि नेकपाको आन्तरिक राजनीति अत्यन्त पेचिलो बन्दै गएको छ । खासगरी मदन जयन्तीका दिन प्रधानमन्त्री ओलीले दिनुभएको अभिव्यक्तिलाई लिएर नेकपा शीर्ष नेतृत्वमा अविश्वास बढेको छ ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई वरिष्ठ नेताहरुले दुवै पदबाट राजीनामा गर्न आग्रह गरेपछि उहाँले आफ्नो पक्षका नेताहरु तथा सरकारमा सामेल केही मन्त्रीसँग सहयोगको आग्रहसहित परामर्श गरिरहनुभएको छ भने उता कार्यकारी अध्यक्ष प्रचण्डलगायतका नेताहरुले प्रधानमन्त्री ओलीले पार्टी निर्णय मान्ने आशय नदेखाई उल्टै बालुवाटारमा गुटको बैठक राखेर चुनौति दिन खोजेको विश्लेषण गर्दै बिहीबार साँझ एक छुट्टै भेला आयोजना गरेका छन् । ललितपुरको झम्सीखेलस्थित एक रेष्टुरेन्टमा भएको भेलामा अध्यक्ष प्रचण्डसहित सचिवालाय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र रामबहादुर थापा ‘बादल’ का साथै ३० जना स्थायी कमिटी सदस्य उपस्थित रहेको खुलेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै बालुवाटारमा गुटको अलग्गै बैठक गरेर आफूलाई सहयोग गर्न आग्रह गर्नुभएपछि अध्यक्षले नै गुटबन्दी शुरु गरेकाले पार्टी एकता जोगाउन बहुमत स्थायी समिति सदस्यहरु झम्सिखेलमा भेला भएको एक स्थायी समिति सदस्यले जानकारी दिए । उहाँका अनुसार झम्सिखेल बैठकमा सहभागि ३० नेताहरुमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, बामदेव गौतम, रामबहादुर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल र गिरिराजमणि पोखरेलको उपस्थिति थियो । कृषि मन्त्री समेत रहनुभएका घनश्याम भुसाल पनि भेलामा आउनुभएको थियो भने पर्यटन मन्त्री योगेश भट्टराईले अर्को जरुरी काम परेकाले बैठकमा आउन नसकेको जानकारी नेताहरुलाई गराउनुभएको ति नेताले बताए ।
प्रधानमन्त्री ओलीका अगाडि दुई विकल्प
६ दिनदेखि जारी नेकपाको बैठक बिहीबार बस्नुअघि दुवै पक्षका नेताहरुले आआफ्नो तर्फबाट आन्तरिक तयारी र पूर्व छलफल गरिसकेकाले आजको बैठक निर्णायक हुने अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीका सामु एकल रुपमा कुनै नयाँ निर्णय लिने अर्थात पार्टीले गरेको निर्णय मान्ने जस्ता दुई विकल्प देखिन्छन् । यि दुईमध्ये उहाँले जे गरेपनि बिहीबारको बैठक निर्णायक बन्ने नेकपाका नेताहरु बताउँछन् ।
झम्सिखेल बैठकमा सहभागि नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीसँग बाक्लो भेटघाट गर्नुका पछाडि खासगरी संसदीय दलमा बहुमत जुटाउने, संकटकाल लगाउने वा संसद विघटन गर्नेजस्ता विकल्पमा प्रयास गरिरहेकोले त्यसलाई रोकेर यो पटक पार्टी निर्देशन मान्न बाध्य बनाइने तयारी बहुमत पक्षले गरेको छ । नेताहरुले जस्तो आशंका गरेपनि संसद विघटन गर्ने विकल्प असंवैधानिक हुने भएकाले त्यसको सम्भावना भने देखिदैन । तर अन्य विकल्पमा प्रधानमन्त्री अघि बढ्न सक्छन् ।
नेकपाका दुवै समूहको तयारी हेर्दा आजको बैठकमा पनि रस्साकस्सी नै हुने देखिन्छ । तर प्रधानमन्त्री ओली पार्टीले जस्तो निर्णय गरेपनि मान्न तयार हुँदा भने स्थिति सहजै अघि बढ्ने अनुमान गर्न सकिन्छ । असन्तुष्ट नेताहरुले चाहेजस्तो प्रधानमन्त्रीले सम्वादमा आएर पार्टी निर्णय मानेर जाने र विधि, पद्दति र विधान अनुसार चल्ने प्रतिवद्धता जनाउनुभयो भने नेकपा भित्रको विवाद क्षणभरमै साम्य हुने देखिन्छ।