‘हिमालयन अनलाइन ट्यालेन्ट शो प्रतियोगिता २०२०’ हुने

होमल्याण्ड खबर

२०७७ श्रावण ३० गते, शुक्रबार १५:४२ मा प्रकाशित

काठमाडौं । ‘हिमालयन अनलाइन ट्यालेन्ट शो प्रतियोगिता २०२०’ हुने भएको छ । हिमालयन म्युजिक एकेडेमीको आयोजनामा यो कार्यक्रम अमेरिकामा हुन लागेको हो ।

आयोजक हिमालयन म्युजिक एकेडेमीका अध्यक्ष पुष्प गजमेरको अनुसार यही अगस्ट १५ तारिखदेखि सेप्टेम्बर १८ तारिखसम्म सहभागिताको लागि फर्म भर्ने मिति तोकिएको छ । प्राप्त जानकारी अनुसार कार्यक्रममा गायन, नृत्य, हाँस्य विधा र बिभिन्न बाजागाजा बजाउने विधा गरी कलाका ४ विधा समावेश गरिएको छ ।

यस प्रतियोगिताको फाइनल भने दशैं र तिहारको बीच (नोभेम्बर ७)मा हुने अध्यक्ष पुष्प गजमेरले बताएका छन् । कार्यक्रमको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ । कार्यक्रमको जजमा विकास थुलुङ, सारंगा श्रेष्ठ र अर्जुन रसाइली रहेका छन् ।

यस्तै कार्यक्रममा जुरी तर्फ भने गोपी दाहाल, डम्बर खापुङ र सन्तोष रामदम रहेका छन् । कार्यक्रमलाई सुजिता गुरुङ, रमेश दियाली, अस्मिता रसाइली र सिड निरौलाले सञ्चालन गर्नेछन् ।

अध्यक्ष गजमेरका अनुसार विजेताले ट्रफीसहित २५०० अमेरिकन डलर, फर्स्ट रनर अपले ट्रफीसहित १५०० अमेरिकन डलर र सेकेन्ड रनर अपले ट्रफीसहित १००० अमेरिकन डलर पुरस्कार र फोर्थ रनर अपले भने ट्रफीसहित अन्य पुरस्कारहरु प्राप्त गर्नेछन् ।