३ मंसिर २०८१, सोमबार
काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले प्रभावकारी काम गर्न नसकेको आलोचना हुँदै आएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामै पनि सरकारले प्रभावकारी काम नगरेको भन्दै चर्को विरोध भयो । स्थायी कमिटी बैठकमा त अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको आलोचना गरे । कतिपयले कोरोना भाइरस फैलिन नदिन काम गर्न नसकेको आरोप समेत लगाए । तर, विवाद समाधान गर्न गठन भएको कार्यदलले भने सरकारले तुलनात्मकरुपमा राम्रो काम गरेको निष्कर्ष निकालेको छ ।
कोरोना संक्रमण तीव्ररुपमा फैलिएको छ । आलोचकहरुले सरकार कोरोना नियन्त्रणमा असक्षम बनेको टिप्पणी गर्दैआएका छन् । तर, सत्तारुढ दल नेकपाले सरकार कोरोना संक्रमण नियन्त्रण र उपचारमा तुलनात्मकरुपमा व्यवस्थापन राम्रो गरेको निष्कर्ष निकालेको छ ।
नेकपाको विवाद समाधान गर्न गठन भएको कार्यदलले आफ्नो प्रतिवेदनमा सरकारले सुरुमै कोरोना रोकथाम र नियन्त्रणका लागि चालेको कदम सकारात्मक भएको उल्लेख गरेको छ । ‘लकडाउन’ संक्रमितको संख्या सुरु हुन थालेसँगै लगाउनुलाई सकारात्मक मानिएको छ । प्रतिवेदनमा सरकारले गरेका सकारात्मक काम उल्लेख गरिएको छ ।
–यस अवधिमा सरकारले आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेको
–प्रयोगशाला विस्तार र परीक्षण
–विदेशबाट आउने तथा संक्रमणको जोखिममा रहेकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने प्रबन्ध –
संक्रमितहरूलाई अलग्गै राख्ने स्थान आइसोलेसन सेन्टरको व्यवस्था
–कोभिड विशेष अस्पताल स्थापना
–समस्यामा परेका र रोजगारी गुमाएकाहरूका लागि राहत
–विदेशमा समस्यामा परेका नेपालीहरूलाई स्वदेश ल्याउने काम
साउन ३० गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गठन गरेको कार्यदलले कोरोना नियन्त्रण प्रभावकारी बनाउन सुझाव पनि दिएको छ । विष्णु पौडेल नेतृत्वको कार्यदलले पेश गरेको प्रस्ताव स्थायी कमिटी बैठकबाट पारित गर्न सुझाव दिइएको छ । कार्यदलले अबका दिनमा गर्नुपर्ने कामको पनि प्रस्ताव प्रस्तुत गरेको छ ।
–अर्थतन्त्र र सामाजिक जीवनका अन्य पक्षलाई चलायमान गराउँदै जनजीवनलाई क्रमशः सामान्य अवस्थातर्फ फर्काउन आवश्यक ।
– कोरोनासँग लड्दै गतिशील हुनु आवश्यक ।
–सङ्क्रमणको जोखिम बढ्दै गएकाले सबैभन्दा खराब स्थितिको आंकलन गर्दै सोही अनुरूप आवश्यक बजेट, स्वास्थ्य सामग्री, जनशक्ति र भौतिक पूर्वाधारको तयारी गर्ने ।
–परीक्षणको दायरा बढाउने र समुदायस्तरमा सङ्क्रमण फैलिएको आशङ्का गरिएका ठाउँमा नमुना सङ्कलन तीव्र पार्ने र बिरामीहरूको उपचारका लागि पूर्व तयारी गर्ने ।
–अस्पतालहरूमा शैया, सघन उपचार कक्ष र भेन्टिलेटरहरूको थप प्रबन्ध गर्ने ।
–निजी अस्पताल र निजी मेडिकल कलेजहरूलाई महामारी अवधिभरका लागि कोरोना उपचारमा प्रयोग गर्ने ।
–काठमाडौं उपत्यका र जिल्लाहरूमा आवश्यकताअनुसार क्वारेन्टिन तथा आइसोलेसन सेन्टर निर्माण गर्ने ।
–कोभिड–१९ का अलावा अन्य बिरामीहरूले सहज उपचार पाउन नसकेका जनगुनासोलाई तत्काल सम्बोधन गर्ने ।
–खाद्य सङ्कटलाई समेत ध्यानमा राख्दै खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरूको भण्डारणको व्यवस्था मिलाउने ।
–कोभिड–१९ बाट प्रभावित आर्थिक क्षेत्रको पुनरूत्थानका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने ।
कार्यदलले भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ । अध्यक्षद्वयको छलफलपछि सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट प्रतिवेदन पारित गराउने नेकपाको तयारी छ ।