फर्निचरमा प्राचीन स्वरुप जोगाउदै राणा

होमल्याण्ड खबर

२०७५ जेष्ठ १५ गते, मंगलवार १०:१० मा प्रकाशित


राणा परिवारका सदस्य । स्वभावैले सुख, सयल र सुन्दरताको सौखिन । हामी मध्ये धेरैले राणाका अनौठा सौखबारे सुनेकै छौ होला । विशेषतः महिला, मदिरा र मस्तीका बारे राणाहरुको सौख ! प्रकाश जिबि (जंगबहादुर) राणा अर्थात राणा खान्दानका सदस्य । त्यसैले पनि सौखिन हुनु उनको घरानियाँ विशेषता नै भयो । तर सौख चैं अरुको होइन, सुन्दर कोठा र फर्निचरको ।

आफ्नो सौखलाई शक्ति र शक्तिलाई व्यावसायमा बदल्ने व्यक्ति हुन्  प्रकाश जिबि राणा । आफ्नो नाम जस्तै प्राचीन कालखण्डका विभिन्न डिजाइनका फर्निचरलाई ‘हाइलाइट’ गर्ने काम गर्छन् । त्यसो त नेपालको मौलिक कला संस्कृत अनुसारका फर्निचर तथा इन्टेरियरका सजावट सामग्री पनि प्रकाशको प्राथमिकतामा देखिन्छन् ।
इम्पेरियल फर्निचर यस्तै ऐतिहासिक तथा मौलिक फर्निचर र सजावटका समाग्री पाइने ठाउँ हो । जहाँ प्राचीन विशेषगरी भिक्टोरियन कालखण्डका उत्कृष्ट फर्निचर पाइन्छ । नेपालका मौलिक कलाकृति अनुसारका विभिन्न झ्याल तथा अन्य सामग्री पनि इम्पेरियल फर्निचरमा देख्न पाइन्छ । यहाँ पुग्ने जोकसैलाई पनि आँखिझ्याल, मयुरझ्याल, देशेमरुझ्या तथा शोंझ्यालगायतका नेवारी तथा अन्य मौलिक संस्कृति झल्किने कला कृति लोभ्याउछ । मौलिक तथा ऐतिहासिक यी कलाकृतिहरुले आफुलाई कुनै ऐतिहासिक राजकीय समरोहमा सहभागी भैरहेको आभास दिन्छ । सानैदेखि यस्तै कलाकृतिको संकलन, संरक्षण र संवद्र्धनमा लागेका राणालाई व्यापार भन्दा पनि कलाकृतिको संरक्षण गर्न पाएकोमा सन्तुष्ट देखिन्छ ।

यस्तै ऐतिहासिक सम्पदाको कला सिंहदरबार ग्यालरी बैंठक, शितल निवास लगायतका भवनभित्र पनि थिए । विभिन्न देशबाट ल्याएका अमूल्य र अद्वितीय ठानिने कलाकृतिहरु संग्रहित थिए राणाको बुझाइ छ ‘तर अहिले छैनन् ।’ अहिले राजकिय भेटघाट तथा समारोहहरुमा कयौं पटक राणाले नै फर्निचर तथा आन्तरिक सजावाटको व्यावस्था गरेका छन् ।
कलाकृति र सजावटको संग्रह नै मानिने स्थलहरुमा संरक्षणको अभावमा यी सम्पदा हराएको र टुटफुट भएका धेरै छन् । राणाको दुखेसो छ, ‘त्यस्ता दुर्लभ कलाकृति पटक पटक कबाडीको मूल्यमा पनि बिक्री गरियो ।’ कुनै समय थियो राणा भनेका सामन्त र निरंकुशताका अवशेष हुन् । तिनले प्रयोग गरिएका सबै बस्तु तथा सेवाहरु पनि सामन्त र निरंकुश चरित्र वा अवशेषका रुपमा व्याख्या गरिन्थ्यो । प्रकाश पीडा पोख्छन् ‘पुराना कलाकृतिप्रति क्षणिक आक्रोश पैदा गराइयो ।’ कलालाई सिर्जना र साधनाको रुपमा बुझ्ने सोच नै मेटाउने वा मोड्ने प्रयास गरियो । उनी भन्छन् ‘आखिर कला त सुन्दर सिर्जना नै हो नि !’
राणा र शाहको राजनीतिप्रति प्रतिशोध भए पनि कलाकृति त सबैका हुन् नि ! ‘तर त्यस्तो भएको पाइएन सखापै पार्न पर्छ भने झै गरे ।’ कलाकृतिमाथि राजनीति वा प्रतिशोध नगर्न राणाको आग्रह छ ।

राजकीय रुचि
बेलायतको साम्राज्य संसारभर फैलिएका बेला रानी भिक्टोरियाले प्रयोग गर्ने फर्निचरको बयान पनि ठूलै थियो । जंगबहादुर बेलायत गएको समयमा ती विश्व प्रख्यात फर्निचर नेपाल भिœयाएका थिए । बिशेष गरी फ्रान्स, बेलायतमा प्रचलित जार, भेनस, बत्ति, भेनिस फ्रेम, मिरर संसारभर रुचाइएको कलाकृति हुन् । यतिमात्रै होइन इटालियनको वाल पेपर, साउदीका राजपरिवारले प्रयोग गर्ने सजावटका तस्वीर तथा सामग्री पनि यस इम्पेरियल फर्निचरभित्र सजिएका छन् ।

यद्यपि अहिले आएका नवधनाढ्यहरुमा बढ्दै गरेको यस्ता कला सम्पदाप्रतिको प्रेम र सकारात्मक सोचका कारण भने राणालाई खुशी तुल्याएको छ । प्लाष्टिक र मेटलका आयातित भन्दा काठका मौलिक फर्निचर प्रति नवधनाढ्यहरुको रुचिले आफ्नोपनको महशुस गराएको छ ।
राणा फर्निचरमा यूनिकनेस हुनु पर्नेमा जोड दिन्छन् । यसका लागि इन्डियन तथा तालिम प्राप्त नेपाली कालिगढहरुको प्रयोग गुर्छन् । यसरी तयार गरिएका कलाकृति विदेशी कुटनीतिज्ञ तथा रोयल फ्यामेलीका मानिसहरुले लैजाने गरेका छन् । विशेषगरी नयाँ र अनुपन कलाका रुपमा ।

लागत
एन्टिक गोल्ड कलर तथा ओलनट कलरमा सजिएका फर्निचर सुनकै जस्तो देखिए पनि खासमा काठद्वारा निर्माण गरिएका हुन् । कतिपय फर्निचर सुनको तर पुरानो भएको आभास दिन ‘ओलनट कलर’मा पनि देख्न सकिन्छ । सोफामा कभर पनि इन्डियन फेब्रिकको प्रयोग गरिन्छ । यसका पनि फरक फरक क्याटेगोरी रहेका छन् । यसको उत्पादन प्रक्रियामा सबै म्यानुअल्ली हुने भएकोले मूल्यमा बढी पर्न सकिने राणाको भनाइ छ । विशेषगरी जंगली सिसौ र टिउड नामका काठको प्रयोग गरिने भएकोले यसको टिकाउ लामो समयसम्म हुनेमा राणाको विश्वास छ । स–साना भागलाई फरक सामानको प्रयोग गर्नु परेका कारण यसको लागत ग्रहाकको इच्छा र चाहनाले निर्भर हुने राणाको भनाइ छ । सिर्जना वा कलाकृतिलाई मौद्रिक भन्दा पनि ‘इमोसनल भ्याल’ू हुने राणाको बुझाइ छ ।

सिर्जनात्मक काम भएका कारण सामान्य कामदारले यस्तो फर्निचरको गर्न नसकिने राणाको अनुभव छ । यसका लागि भारतीय तथा नेपालका तालिम प्राप्त कालिगढहरु व्यावस्था गरेको राणाले जानकारी दिए । तालिम प्राप्त कालिगढको अभाव भैरहेको जनाउँदै कालिगढको पेशाबाट पनि प्रसस्त कमाउन सकिने राणाको भनाइ छ ।

वार्षिक रु २० अर्बको आयत

मौलिकपन र राष्ट्रियताको सन्दर्भमा, नेपालको फर्निचर बजार परनिर्भर हुदै गएको देखिन्छ । चीन, भारत, सिंगापुर, मलेसिया लगायतका मुलुकबाट करोडौँ मूल्यका फर्निचरका सामग्री आयात हुने गरेको छ । नेपाल फर्निचर तथा फर्नि्सिङ व्यवसायी महासंघको प्रतिवेदनअनुसार, वार्षिक रु २० अर्बको फर्निचर र फर्नि्सिङ सामग्री आयात हुने गरेको छ । फर्निचर र फर्नि्सिङ महासंघका अध्यक्ष सुरेन्द्रकुमार शारदाले नेपाली बजारमा फर्निचरको माग बढ्दै गएको भन्दै फर्निचर खरिदमा अर्बौं रुपैयाँ विदेशिने गरेकोप्रति सचेत हुनुपर्ने बताउँछन् । स्थानीय आवश्यकतालाई पूरा गर्न पनि नेपाली फर्निचर व्यवसायले विदेशी फर्निचरसँगको प्रतिस्पर्धा गर्न सक्नुपर्ने देखिन्छ ।
फर्निचर उद्योगमध्ये काठमाडौँ उपत्यकामा १० हजार हाराहारीमा सञ्चालित छन् । जसबाट ५० हजारले रोजगारी पाएको पनि प्रतिवेदन उल्लेख गरिएको छ ।

काठका फर्निचर घट्दै
महासंघका अध्यक्ष सुरेन्द्रकुमार शारदाका अनुसार अहिले नेपाली बजारमा फर्निचरको माग बढ्दै गएको भए पनि फर्निचर खरिदमा काठका फर्निचरको अभाव खड्किदो छ । प्लाष्टिक, फाइबर र मेटलका कारण पनि काठको प्रयोगमा कमि आएको व्यावसायीको अनुभन छ ।

मुलुकभरि प्रयोग भएका फर्निचर बजारको लगभग ५० प्रतिशत मात्र आन्तरिक उत्पादनबाट पूर्ति हुने अनुमान महासंघका अध्यक्ष सुरेन्द्रकुमार शारदाको छ । शारदा भन्छन् बनसम्वन्धी कडा कानूनका कारण पनि यस्तो भएको हो । फर्निचरमा सिसौका विभिन्न क्याटेगोरीका काठ र टिक् उडको प्रयोग उपयूक्त मानिन्छ । तर काठ अभावका कारण अन्य कुकाठहरुको प्रयोग बढेको छ ।
प्रकाश परिवर्तित समय र सन्दर्भमा पनि राणाकालीन सम्पन्नतालाई सर्वसाधारणसमक्ष पु¥याउन प्रयाशमा रहेका छन् । त्यो पनि कलापूर्ण सुन्दर फर्निचरको माध्यमबाट ।