८ मंसिर २०८१, शनिबार
होमल्याण्ड खबर – नेपाली काँग्रेसले पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार पचास खर्बको पुर्याउने जनाएको छ।
नेपाली काँग्रेसले पार्टीको घोषणापत्रमा पाँच वर्षमा नेपालको अर्थतन्त्रको आकार ५० खर्बको र नेपालीको प्रतिव्यक्ति वार्षिक आय १ लाख ५० हजार पुर्याउने जनाएको हो।
हाल नेपालको अर्थतन्त्रको आकार २५ खर्ब ९९ अर्ब रुपैयाँको छ भने नेपालको पछिल्लो बजेटको आकार १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको छ। त्यस्तै, नेपालको प्रतिव्यक्ति वार्षिक आय ९० हजार ५ सय २१ रुपैयाँ छ। नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका लागि तयार गरेको घोषणापत्रमा ५० खर्ब रुपैयाँको अर्थतन्त्रको आकारका लागि व्यापक विदेशी पूँजीको परिचालन गर्ने तथा अभूतपूर्व स्वदेशी लगानी गर्ने जनाएको छ।
साथै, व्यापक नीतिगत सुधार गर्ने दाबी समेत गरेको छ। काँग्रेसले सोमबार सार्वजनिक गर्न लागेको घोषणापत्रलाई कार्यान्वयनको संकल्प भएको दाबी समेत गरेको छ। काँग्रेसले २०५२ सालपछि ‘त्रिशंकु संसद’, अल्पमतको सरकार, राजनीतिक अस्थिरता, हिसांत्मक द्वन्द्व र कतिपय दलबीच आर्थिक नीतिमा देखिएको अस्पष्टताका कारण आर्थिक वृद्धिदरले सुस्त गति पक्डिएको उल्लेख छ।
काँग्रेसले कम्युनिष्ट सरकारका अस्थिर, अविश्वसनिय, भ्रष्ट र लोक रिझ्याँइमा सिमित नीतिले मुलुकको वित्तीय अनुशासन ध्वस्त भएको जनाएको छ।
काँग्रेसले घोषणापत्रमा एक दशकसम्म सातदेखि दश प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न र तीन देखि पाँच लाख रोजगारी श्रृजना गर्न प्रतिबद्ध रहेको जनाएको छ